
एजेन्सी । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई एक सैन्य अदालतले थप सात वर्षको जेल सजाय सुनाएको छ ।
योसँगै सुकीको जेलमा बस्नुपर्ने अवधि ३३ वर्ष पुगेको छ । सन् २०२१ को फेब्रुअरीमा त्यहाँको सेनाले सुकीको सरकारलाई अपदस्थ गरेदेखि उनी घरमै नजरबन्दमा छिन् । संयुक्त राष्ट्र सुरक्षा परिषदले गत हप्ता उनलाई रिहा गर्न आह्वान गरेको थियो। तर सैन्य शासकले त्यसको कुनै सुनवाई गरेन । शुक्रबार उनलाई अन्तिम पाँच आरोपमा सजाय सुनाइएर जेल जीवन लम्व्याइएको हो । अन्तराष्ट्रिय संचार माध्यमका अनुसार एक सरकारी मन्त्रीका लागि हेलिकप्टर भाडामा लिएको र नियम पालना नगरेको भन्दै अदालतले उनलाई भ्रष्टाचार गरेको ठहर गरेको हो ।
उनी यस अघि म्यान्मारको सैन्य शमसकबाट कोरोनाका बेला सार्वजनिक सुरक्षा नियमहरू उल्लङ्घन गर्ने, वाकी–टकीहरू आयात गर्ने र आधिकारिक गोप्य ऐन उल्लङ्घन सहित विभिन्न १४ वटा अपराधहरूमा दोषी ठहर भइसकेकी छन्। नजर बन्दमा उनलाई जनता र मिडियाको पहुँचमा रोक लगाइएको छ र उनका वकिलहरूलाई पनि पत्रकारहरूसँग बोल्न प्रतिबन्ध लगाइएको छ। उनले आफूमाथि लागेका सबै आरोप अस्वीकार गर्दै आइरहेकी छिन् ।
७७ वर्षीय नोबेल पुरस्कार विजेता सुकीले आफ्नो अधिकांश समय राजधानी नेपी तावमा नजरबन्दमा बिताएकी छन् । सुकी र उनको पार्टीका धेरै सदस्यहरू जेलमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्