काठमाडौंवासीलाई बाह्रै महिना पानी खुवाउने मन्त्री चौधरीको प्रतिवद्धता « Imagekhabar – Online News Portal of Nepal
२२ माघ २०७९, आईतवार | Sun Feb 5 2023


काठमाडौंवासीलाई बाह्रै महिना पानी खुवाउने मन्त्री चौधरीको प्रतिवद्धता


91
Shares

काठमाडाैं । खानेपानी मन्त्री उमाकान्त चौधरीले अस्थायी रुपमा भएपनि काठमाडौंवासीलाई १२ महिना नै पानी खुवाउने प्रतिवद्धता जनाउनुभएको छ ।

आज (शुक्रबार) मेलम्चीको पानी पुनः वितरण कार्यक्रममा सहभागी हुँदै मन्त्री चौधरीले काठमाडौंवासीलाई अस्थायी रुपमा भएपनि पानी खुवाउने प्रतिवद्धता जनाउनुभएको हो। उहाँले मेलम्चीको पानीको दीर्घकालीन रुपमा स्थायी समस्या समाधानका लागि एडिभीले पहिलो प्रतिवेदन बुझाइसकेको र दोस्रो प्रतिवेदन बुझाउने चरणमा रहेको जानकारी दिँदै मेलम्ची खानेपानीका संरचना सुरक्षा गर्दै स्थायी समाधान खोज्नेतर्फ सरकार लागेको बताउनुभयो । मन्त्री चौधरीले विज्ञहरुले दिएको सुझाव र एडिभीले दिएको प्रतिवेदनलाई कार्यान्वयन गरेको खण्डमा बाह्र मास नै काठमाडौंवासीलाई पानी खुवाउन सकिने उल्लेख गर्नुभयो ।

उहाँले काठमाडौंवासीलाई बारम्बार मेम्चीकै पानीको लागि पर्खिनु पर्ने बाध्यता हटाउनका लागि सरकारले मेलम्चीको विकल्पको रुपमा यस वर्ष वर्षातको बेलामा वागमतीको पानी ल्याएर मेलम्चीकै ट्रिटमेण्ट प्लान्टमा जम्मा गरिएको, याङ्ग्री र लार्केको योजना पनि अध्ययन गरी अघि बढाएको साथै सिस्नेरी र ठोस्ने खोलाको कार्ययोजना बनिसकेको र काम पनि भइरहेको बताउनुभयो । उहाँले काठमाडौंवासीलाई बाह्रै महिना खानेपानी खुवाउन महादेव खोलाको पनि विकल्पमा काम भइरहेको बताउनुभयो ।

मन्त्री चौधरीले आगामी दिनमा काठमाडौंमा पानी व्यवस्थापन गर्न अन्य ठाउँको विकल्प दिनसके काठमाडौंवासीले कसैको मुख हेर्न नपर्ने बताउनुभयो । अबदेखि १२ महिना नै काठमाडौंवासीले मेलम्चीको पानी पिउनसक्ने पनि उहाँले बताउनुभयो ।