Logo ८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026


फेदीखोला गाउँपालिका अध्यक्षको कार्यकक्षमा तालाबन्दी


676
Shares

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकाको कार्यपालिका सदस्यहरुले गाउँपालिकाका अध्यक्षको कार्यकक्षमा ताला लगाएका छन् ।

गाउँपालिकाका वडा नं १, ३, ४ र ५ का वडा अध्यक्षसहित जनप्रतिनिधिका समूहले विभिन्न १२ बुँदे मागसहित अध्यक्षको कक्षमा जाने ढोकामा अनिश्चितकालीन तालाबन्दी गरेको जनाएका छन् ।

कार्यपालिका सदस्यहरुले नै पालिकाका अध्यक्ष घनश्याम सुवेदीको कार्यकक्षमा जाने ढोकामा बुधबार तालाबन्दी गरेका हुन् ।

विशेष गाउँसभाको माग गर्दा वेवास्ता गरेको, अनुगमन समिति गठन नगरी आर्थिक अनियमितता गरेको, शिक्षा समिति गठन नगरी शिक्षक सरुवा गरेको, भदौदेखि अहिलेसम्म एउटा पनि बैठक नबोलाइएको जस्ता बुँदाहरु उल्लेख गरी तत्काल यी मागलाई सम्बोधन गर्न माग गरिएको बताइएको छ ।

गाउँपालिकाका अध्यक्ष सुवेदी र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पौडेलले स्थानीय सरकार सञ्चालन ऐन २०७४ विपरीत काम गरेको जनप्रतिनिधिहरूले बताएका छन् ।