लोसपा र जसपालाई उछिन्दै जनमत, सीके राउत अगाडि « Imagekhabar – Online News Portal of Nepal
२२ मंसिर २०७९, बिहीबार | Thu Dec 8 2022


लोसपा र जसपालाई उछिन्दै जनमत, सीके राउत अगाडि


208
Shares

काठमाडौं । दुई मधेसवादी दलप्रति मतदाताले मतमार्फत असन्तुष्टि देखाएका छन् । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा)प्रति मतदाताले असन्तुष्टि पोखेका छन् । यी दुई मधेसमा कमजोर देखिँदै गर्दा मतदाताले डा. चन्द्रकान्त राउत (सिके) नेतृत्वको जनमत पार्टीलाई अघि सारेका छन् । प्रतिनिधि तथा प्रदेशसभा सदस्यको मतगणना जारी नै छ ।

हिजो मंगलबार सार्वजनिक मत परिणामअनुसार जनमत पार्टीले मधेस प्रदेशको दुई सिटमा विजयी भएको छ । सप्तरी क्षेत्र २ प्रदेशसभातर्फको दुबै सिटमा जनमतका उम्मेदवार विजयी भएका छन् । सप्तरी–२ प्रदेशसभा क्षेत्र १ मा जनमत पार्टीका सतिश कुमार सिंह १६ हजार ७ सय ३४ मतसाथ विजयी भएका छन् । उनले जसपाका उम्मेदवार शैलेन्द्रप्रसाद साहलाई पराजित गरेका हुन् ।

मधेस प्रदेश अर्थमन्त्रीसमेत रहेका साहले कुल ८ हजार २ सय ९२ र तेस्रोमा लोसपाका सरोज कुमार मण्डलले ६ हजार १ सय ३२ मत पाएका छन् । त्यस्तै, प्रदेशसभातर्फ क्षेत्र २ मा पनि जनमतकै महेशप्रसाद यादव विजयी भए । उनले १३ हजार ३ सय २५ मतसाथ विजय हासिल गरेका हुन् भने माओवादी केन्द्रका उमेश कुमार यादवले ७ हजार २३ मत पाए । जसपाका उम्मेदवार लक्ष्मण यादव भने ५ हजार ६ सय २३ मतसहित तेस्रो भएका छन् । सप्तरी २ प्रतिनिधिसभातर्फको मतगणनामा पनि जनमतकै डा. सीके राउतले फराकिलो अग्रता बनाएका छन् ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।