Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


सर्वदलीय बैठक: विपद्को दिगो समाधानका लागि १० बुँदे साझा संकल्पसहित अपिल जारी

राजनीतिक मतभेद भन्दा माथि उठेर एकजुट हुने प्रतिबद्धता

0
Shares

काठमाडौं । सर्वदलीय बैठकले नेपाल-चीन सीमावर्ती क्षेत्रबाट भोटेकोशी लगायतका नदीमा आएको अप्रत्याशित बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपद्को सामना गर्न राजनीतिक मतभेद भन्दा माथि उठेर एकजुट हुने प्रतिबद्धता जनाएको छ।

सिंहदरबारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेकाे आह्वानमा बिहीबार बसेको सर्वदलीय बैठकले बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासी लगायत जिल्लामा भएको मानवीय क्षति, भौतिक संरचनाको विनाश र वातावरणीय संकटप्रति राष्ट्रिय पीडा व्यक्त गरेको हो । बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै बैठकले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचार, हेरचाह तथा मनोसामाजिक परामर्शको जिम्मेवारी राज्यले लिनुपर्नेमा राजनीतिक दलहरू एकमत भएका हुन् ।

विपद्को अवस्था कुनै एक भूगोल वा सरकारको मात्रै संकट नभई सिंगो राष्ट्रको साझा परीक्षण भएको भन्दै बैठकले नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई सर्वोपरि राखेर सबै राजनीतिक दल एकढिक्का हुने प्रतिबद्धता जनाएको छ । बैठकले विपद्को दिगो समाधान तथा आगामी दिनमा पूर्वतयारीका लागि १० बुँदे साझा संकल्पसहित अपिल जारी गरेको हाे।

संयुक्त अपिल जारी गर्ने ८ दलमा रास्वपाका सभापति लामिद्धछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपाका संयोजक पुष्रपकमल दाहाल, नेकपा एमालेका महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका नेता ध्रुव राई, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका नेता चन्दन सिंह रहेका छन् ।