
वीरेन्द्रनगर । कर्णालीमा केही जिल्ला र क्षेत्रको चुनावी नतिजा बाहेक ७ जिल्लामा मतगणना भईरहेको छ। प्रारम्भिक मत गणनामा प्राय सत्ता गठबन्धनको मत परिणाममा अग्रता देखिएको हो। हिमाली जिल्ला हुम्ला, मुगु, डोल्पा र सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ बाहेक अन्य ७ जिल्लामा मत गणना कार्य भईरहेको छ। जसमा प्रतिनिधि सभा र प्रदेश सभामा सत्ता गठबन्धनका उम्मेदवारहरुको अग्रता देखिएको छ। जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी र दैलेख निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यको मतको अग्रता नेकपा एमालेका उम्मेदवारले लिए पनि अन्य निर्वाचन क्षेत्रहरुमा सत्ता गठबन्धनले अग्रता लिएको हो।
मुगुमा मंगलबार साँझ मात्र मतपेटिका सदरमुकाम गमगढीसम्म पुगेको छ। बुधबारबाट मात्र मतगणना हुने जनाईएको छ। हुम्ला र डोल्पामा हेलिकाेप्टर नपुग्दा मतपेटिका ओर्सान नसकिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता ९एसएसपी० माधवप्रसाद श्रेष्ठले बताए। ‘हेलिकाेप्टर नपुग्दा मत पेटिका जिल्ला सदरमुकाम ल्याउन सकिएको छैन्।’ प्रहरी प्रवक्ता श्रेष्ठले भने, छिटो मत पेटिका ल्याउने तयारी भईरहेकोले ति जिल्लामा छिटो मत गणना हुनेछ।’ सुर्खेतको क्षेत्र नम्वर १ स्थित सिम्ता गाउँपालिकाको सिम्ता बहुमुखी क्याम्पस मतदान केन्द्रमा विवादका कारण मतदान स्थगित भएको थियो। उक्त स्थगित भएको मतदान मंगलवार फेरी सम्पन्न भएसंगै बुधबारबाट सुर्खेत निर्वाचन क्षेत्र नम्वर १ को मतगणना हुने जनाइएको छ।
सुर्खेत निर्वाचन क्षेत्र नम्वर २ मा नेपाली काँग्रेसका उम्मेदवार हृदयराम ठानीले ४० हजार ९ सय ५९ मत गणना हुँदा १८ हजार ७ सय ७८ मत ल्याएका छन् भने उनका प्रतिद्धन्द्धी नेकपा एमाले अमृत विसीले १५ हजार ५ सय ८८ मत ल्याए। ठानी र विसीको ३ हजार बढी फराकिलो मत अन्तर रहेको छ। प्रदेश सभाको मत गणना सुर्खेतमा भएको छैन्। दैलेखको निर्वाचन क्षेत्र नम्वर दुईमा नेपाली काँग्रेसका दिक्पाल कुमार शाहीले सुरुवाती चरणदेखि नै अग्रता लिएका छन्।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्