२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


पोखरा विमानस्थलमा आजदेखि यान्त्रिक परीक्षण हुने


169
Shares

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आज साेमबारदेखि यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ गरिने भएको छ ।

यान्त्रिक उडानका लागि सम्पूर्ण तयारी पूरा भएको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार पोखरा विमानस्थलमा एक साता यान्त्रिक उडान हुने भएकाे छ । उक्त प्रयोजनका लागि एरोथाई कम्पनीको विमान गत शनिबार नै पोखरा विमानस्थलमा पुगिसकेको छ । प्राधिकरणले साेमबारदेखि यही मंसिर १२ गतेसम्मको यान्त्रिक उडानको तालिका बनाएको हो ।

यान्त्रिक उडानमा एयर ट्राफिक कन्ट्रोलर, टावर, धावनमार्ग र विमानस्थलमा जडान भएका सञ्चार उपकरणले काम गरे/नगरेको परीक्षण गरिने भएकाे छ । प्राधिकरणले आगामी पुस १७ गते देखि पोखरा विमानस्थल व्यावसायिक सञ्चालनको घोषणा गरिसकेको छ । यान्त्रिक उडानका क्रममा पोखरा विमानस्थलमा हुने आन्तरिक उडान सामान्य प्रभावित हुने भएकाे छ ।

यान्त्रिक परीक्षण उडान साेमबार बिहान १० देखि दिउँसो १ बजेसम्म हुने प्राधिकरणले जनाएको छ ।