६१ प्रतिशत मत खस्योः खुल्दै ब्यालेट बक्स « Imagekhabar – Online News Portal of Nepal
१६ मंसिर २०७९, शुक्रबार | Fri Dec 2 2022


६१ प्रतिशत मत खस्योः खुल्दै ब्यालेट बक्स


65
Shares

काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ६१ प्रतिशत मत खसेको छ । जुन अपेक्षाभन्दा कम हो । प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फ गरी निर्वाचनमा ११ हजार ५ सय ४३ उम्मेदवारबीच प्रतिस्पर्धा छ । उनीहरूको भविष्य मतपेटिकामा बन्द छ । प्रतिनिधिसभा र प्रदेशसभामा गरी कुल ८ सय २५ जना उम्मेदवार संसद् प्रवेश गर्ने छन् । धेरै ठाउँमा मतगणनाको अन्तिम गृहकार्य भइरहेको छ । आयोगका अनुसार सोमबार विहानदेखि मतगणना कार्य धमाधम हुने छ ।

देशका १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा एकै चरणमा एकैपटक निर्वाचन सम्पन्न भएकोमा प्रारम्भिक विवरणअनुसार ६१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगको प्रणालीमा प्रविष्ट भएको प्रारम्भिक विवरणअनुसार ६१ प्रतिशत मत खसेको बताए । पाँचवर्षे कार्यकालका लागि प्रतिनिधिसभा सदस्यतर्फ प्रत्यक्षमा १ सय ६५ र समानुपातिकतर्फ १ सय १० गरी २ सय ७५ र प्रदेशसभाका लागि प्रत्यक्ष ३ सय ३० र समानुपातिक २ सय २० गरी ५ सय ५० सिटका लागि ११ हजार ५ सय ४३ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २ हजार १ सय ८९ पुरुष र २ सय २५ महिला गरी कुल २ हजार ४ सय १२ तथा समानुपातिकतर्फ १ हजार १२ पुरुष र १ हजार १ सय ८७ महिला गरी कुल २ हजार १ सय ९९ उम्मेदवार मैदानमा छन् । यसैगरी, प्रदेशसभाको प्रत्यक्षतर्फ २ हजार ९ सय ४३ पुरुष, २ सय ८० महिला र एक अन्य गरी कुल ३ हजार २ सय २४ तथा समानुपातिकतर्फ २ हजार १ सय ९७ पुरुष र १ हजार ५ सय ११ महिला गरी कुल ३ हजार ७ सय आठ उम्मेदवार प्रतिस्पर्धामा छन् । निर्वाचनमा कुल १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले मतदान गर्न योग्य भएको आयोगले बताएको थियो । आयोगले निर्वाचनका लागि ९१ लाख ४० हजार ३ सय ६ पुरुष, ८८ लाख ४७ हजार ५ सय ७९ महिला र १ सय ८५ अन्य मतदाता कायम भएको जनाएको थियो ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।