ज्येष्ठ नागरिक भन्छन्: मत दिने अधिकार गुमाउनु हुँदैन « Imagekhabar – Online News Portal of Nepal
१६ मंसिर २०७९, शुक्रबार | Fri Dec 2 2022


ज्येष्ठ नागरिक भन्छन्: मत दिने अधिकार गुमाउनु हुँदैन


78
Shares

काठमाडाैं । ज्येष्ठ नागरिकहरुलाई अनुभवका खानीकाे रुपमा लिने गरिन्छ ।

नियतिले उनीहरुलाई बृद्धाश्रमको पाहुना बनाएपनि यस्ता थुप्रै चुनावमा सहभागी भएको अनुभव उनीहरुसँग रहेकाे छ । एकाघरमा हुँदा उत्साहजनक रुपमा मतदानकाे बारेमा छलफल गरेपनि अहिले उनीहरुलाई त्यो सुविधा भने छैन । अस्थायी मतदाता नामावलीमा थोरैको नाम समेटिएकाले पशुपतिस्थित बृद्धाश्रमका थोरै मतदाताले मतदानको सुविधा पाउने भएका छन् ।

पशुपतिस्थित सरकारी बृद्धाश्रममा आश्रय लिन पुग्नु भएकी पम्फा कार्कीले एउटा भाेटले सबैलाई राम्रो हुने र भाेट हाल्नै पर्ने अभिव्यक्ति दिनुभएको छ । बृद्धाश्रममा रहेर पनि उहाँ मतदान उपयोग गर्ने पक्षमा हुनुहुन्छ ।

उहाँ जस्तै यस बृद्धाश्रमका ३ पुरुष र ५ महिला गरी ८ जनालाई मतदानको सुविधा प्राप्त छ । ५८ महिला, ३६ पुरुष गरी ९४ जना ज्येष्ठ नागरिक यस बृद्धाश्रममा आश्रित छन् ।

अधिकांशको नागरिकता नभएका कारण उनीहरु मतदाता परिचयबाट वञ्चित हुन पुुगेका छन् । मतदाता परिचयपत्र रहेका मध्ये कतिपय राज्यले आफूलाई न्याय नदिंदा मत दिने मन मरेको रामप्रसाद हुमागाईले बताउनुभएकाे छ । आफ्नो जीवनमा धेरै पटक मतदान गरिसक्नु भएका रामेछाप मन्थलीका तुलमाया पुरी भने आफनो नाम दर्ता छुटेका कारण मत हाल्नबाट वञ्चित हुनुपरेको गुनासो गर्नुहुन्छ ।

आश्रित ज्येष्ठ नागरिकका लागि निर्वाचन आयोगले तोकेको मतदानस्थलमा पुगेर मत दिन आतुर उनीहरुलाई कुन क्षेत्रको उम्मेदवार भन्ने हेक्का त छैन । तर मताधिकारबाट चुक्न नहुने चेत भने प्रशस्तै देखिन्छ । राजनीतिक दलहरुले चुनावी प्रतिवद्धतासँगै ज्येष्ठ नागरिकको सामाजिक सुरक्षालाई प्राथमिकता दिन जरुरी छ ।