शिक्षकको कुटपिटपछि छात्राले गरिन आत्महत्या « Imagekhabar – Online News Portal of Nepal
१८ मंसिर २०७९, आईतवार | Mon Dec 5 2022


शिक्षकको कुटपिटपछि छात्राले गरिन आत्महत्या


6.968k
Shares

सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिकामा रहेको एक सरकारी विद्यालयका शिक्षकले छात्रालाई मरणासन्न हुनेगरी कुटपिट गरेपछि छात्राले आत्महत्या गरेकी छन् ।

शिक्षकले कुटपिट गरेपछि ग्रामकाली मावि सुनकोशी-६ अमारेकी कक्षा ७ मा अध्ययनरत छात्रा गोमा बिकले आत्महत्या गरेकी हुन् । सोही विद्यालयका सामाजिक शिक्षक मिलन दाहालले छात्रा बिकले गृहकार्य नगरेको भन्दै विद्यालयको कक्षाकोठामै मरणासन्न हुनेगरी कुटपिट गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएकाे छ ।

शिक्षक दाहालले पाँचौं घण्टीमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया छात्रा बिकसहित ५ जना विद्यार्थीलाई कुटपिट गरेको अनुसन्धानबाट खुलेको छ । मृतक छात्राले घरमा आएर झुण्डिएर आत्महत्या गरेकी हुन् । उनले सोमबार बेलुकी साढे ४ बजे घरमै झुण्डिएको अवस्थामा फेला परेकी थिइन । मृतक छात्राको हात, नाडी र ढाडमा शिक्षकले कुटेको निलडाम छ। मृतक छात्रा बिकसहित ६ जना छात्रा र २ जना छात्रलाई शिक्षकले कुटपिट गरेको स्थानीयबासीले बताएका छन् ।

बालबालिकालाई सतिवेरको लौरोले कुटेको विद्यार्थीहरुले बताएको स्थानीयले जानकारी दिएका छन् । कुटपिट गर्ने शिक्षक अहिले फरार रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार प्रहरीले घटना स्थलको मुचुल्का गरिसकेको छ । मुचुल्कामा समेत प्रहरीले हातमा निलडाम रहेको उल्लेख गरेको स्थानीयले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी हरिकृष्ण केसीका अनुसार प्रारम्भिक अनुसन्धानमा शिक्षकले विद्यालयमा कुटेको र घरमा आइसकेपछि आत्महत्या गरेको बुझिएको छ । बालिकाको हातमा निलडाम देखिएको पनि उहाँले पुष्टि गर्नुभयाे । पोष्टमार्टम रिपोर्टपछि अनुसन्धान अगाडि बढ्ने समेत उहाँले बताउनुभयाे ।

पोष्टमार्टमका लागि मृतक छात्राको शव सिन्धुली अस्पताल ल्याइएको छ ।