Logo २७ भाद्र २०८३, शनिबार | Sun Sep 13 2026


जनता सधैं ‘जाल’मा


78
Shares

काठमाडौं । सर्लाहीको बसबरिया–३ मानपुरका ६० वर्षीय उत्तिम सहनीले वाग्मतीमा जाल हालेर माछा मार्न थालेको चार दशकभन्दा बढी भइसक्यो । त्यति नै वर्ष भयो, उनले निर्वाचनमा भोट हाल्न थालेको पनि । उनी जालमा माछा पार्छन् तर नेताहरू उनलाई जालमा पार्छन् ।

‘हरेक चुनावमा नेताले नयाँनयाँ बहाना बनाएर हामीलाई जालमा पार्दै आएका छन्,’ मनुषमारा नहरमा माछा मार्दै गरेका उनले भने, ‘नेताको जालबाट उम्किन कहिल्यै सकेनौं ।’ गरिबीका कारण नेताहरूले झुक्याउँदै आएको उनले बताए ।

‘सन्तानका लागि राम्रो होला भनेर पटकपटक भोट खसाल्न गयौं,’ जाल हान्दै गरेका उनले आफ्ना दुई छोरालाई देखाउँदै भने, ‘नेताहरूको झुटा आश्वासनले मसँगै यिनीहरू पनि जालमा परिरहेका छन् ।’ सहनीको जस्तै धारणा राख्छन्, कौडेनाका ७० वर्षीय चन्द्रदेव पासवान पनि ।

पञ्चायतकालदेखि भोट हाल्दै आएका उनले आसैआसमा जीवन बिताएको सुनाए । ‘उम्मेदवारहरू फेरिए तर हाम्रो अवस्था फेरिएन,’ उनी भन्छन्, ‘फेरि नयाँ आसमा भोट हाल्न जाँदैछौं ।’ चुप लागेर बस्नुभन्दा भएकामध्येबाट राम्रा छान्नुपर्ने उनको भनाइ छ ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।