१८ बैशाख २०८२, बिहिबार | Fri May 2 2025


खुम्बु आउने पर्यटक बढेपछि लुक्लामा हवाई चाप उच्च


2.249k
Shares

सोलुखुम्बु । सोलुखुम्बुको पर्यटकीय क्षेत्रमा पर्ने अति व्यस्त तेन्जिङ हिलारी विमानस्थल लुक्लामा सगरमाथा तथा अन्य हिमश्रृखलाहरु अवलोकन गर्न आउने पर्यटक बढेका छन् ।

पर्यटक बढेपछि दैनिक रुपमा हवाईजहाजले मात्र ३० भन्दा बढी उडान भर्दै आएको छ भने हेलिकप्टरले करिब ११० उडान गरिहेका छन् ।

पर्यटकीय सिजनको मध्यमा पुग्दा फर्कनेको संख्या बढी भएको नेपाल नागरिक उड्डयन कार्यालय लुक्लाका प्रमुख द्वारिका अछामी नेपालीले जानकारी दिनुभयो । उहाँकाअनुसार दैनिक तारा एयर, सीता एयर र समिट एयरलाइन्सले उडान भर्ने गरेका छन् ।

हवाईजहाज र हेलिकाेप्टर गरी दैनिक एक हजार हाराहारी विदेशी तथा स्वदेशी पर्यटकहरु लुक्लामा आहोरदोहोर गर्ने उहाँले बताउनुभयो । यसवर्षदेखि रामेछाप विमानस्थलबाट उडान गर्न थालेपछि सहज भएकाले पनि उडान धेरै भइरहेको प्रमुख अछामीले बताउनुभयो । यसअघि त्रिभुवन विमानस्थलबाट उडान गर्दा ट्राफिकका कारण उडान र अवतरणमा समय लाग्ने हुँदा सहज उडान गर्न सकिएको थिएन ।

असोजबाट सुरु भएको यो अक्टोबर सिजनको पर्यटन मुख्य गरी कात्तिकको अन्त्यसम्म चल्ने गरेको पर्यटन व्यवसायीहरुले बताउँछन् । यो मौसममा हरेक वर्ष लुक्ला विमानस्थलमा बढी उडान हुने गर्दछन् ।

सिजनका बेला पर्यटकीय विमानस्थलहरुलाई पहिलो प्राथमितामा राखेर एयरलाईन्सहरुले उडान गर्ने भएकाले जिल्लाका अन्य विमानस्थलहरुमा भने उडान कम हुने गरेको छ ।

जिल्लाका चारवटा विमानस्थलमध्ये स्याङ्बोचे विमानस्थल र काँगेलडाँडा विमानस्थल बन्द रहेका छन् भने फाप्लु विमानथलमा फाटफुट उडान हुने गरेको छ । सिजनको शुरुवातमा मौसम प्रतिकुल बनेपनि पछिल्लो समय सफा मौसमका कारण उडानमा समस्या छैन ।