मनकामना बस दुर्घटना (अपडेट) : मृतकको पहिचान खुल्यो « Imagekhabar – Online News Portal of Nepal
१६ मंसिर २०७९, शुक्रबार | Fri Dec 2 2022


मनकामना बस दुर्घटना (अपडेट) : मृतकको पहिचान खुल्यो


325
Shares

काठमाडौं । पूर्वी पाल्पाको हुँगीबाट गोरखाको मनकामना दर्शनका लागि दर्शनार्थीहरु बोकेर आईरहेको बस दुर्घटनामा मृत्यु हुने पाँचै जनाको पहिचान खुलेको छ ।

३५ तीर्थयात्री रहेको ना ६ ख ७५८० नम्बरको सो बस नवलपुरको बुलिङटार गाउँपालिका वडा नम्बर २ को मथार भन्ने स्थानमा आईपुग्दा दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीका ४१ वर्षीय तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीया धनी विक, ५८ वर्षीया देवी गाहा र स्याङ्जा गल्याङकी ४५ वर्षीया फूलमाया विक रहेको नवलपुरको डेढगाउँ प्रहरी कार्यालयले जनाएको छ ।

घटनामा ३० जना घाइते भएका छन् । घाइतेहरु मध्ये २४ जनालाई चितवन र ६ जनालाई रामपुर पठाइएको पनि प्रहरीले जनाएको छ ।

पाल्पाको रम्भा गाउँपालिकाका च्याङलिङ, नौगाउँ, गैरी, विसौना र साठी गाउँका स्थानीयहरु दुई वटा बसमा मनकामना दर्शनका लागि गईरहेकोमा एउटा बस पल्टिएको हो ।

दुर्घटना भएको बसमा विसौना, च्याङलिङ र गैरी गाउँका दशनार्थीहरुको रहेको जनाइएको छ । कालिगण्डकी करिडोर अन्तर्गतको निर्माणाधीन सडकबाट बस सय मिटर तल कालिगण्डकी किनारमा खसेको प्रहरीले जनाएको छ ।