आफ्नै भवनबाट सेवा दिन पाउनुपर्ने महानिरीक्षक सिंहको आग्रह « Imagekhabar – Online News Portal of Nepal
२२ मंसिर २०७९, बिहीबार | Thu Dec 8 2022


आफ्नै भवनबाट सेवा दिन पाउनुपर्ने महानिरीक्षक सिंहको आग्रह


0
Shares

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले सबै प्रहरी इकाइले आफ्नै भवनबाट सेवा दिन नपाइरहेको भन्दै आवश्यक व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्नुभएको छ ।

सोमबार ६७ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा बोल्दै उहाँले यस्तो गुनासो गर्नुभएको हो । महानिरीक्षक सिंहले केही प्रहरी कार्यालय, ब्यारेकहरु अझैपनि अन्य निकायका व्यक्तिको घरमा आश्रय लिँदै आएको भन्दै आम नागरिकबाट प्रहरी कार्यालयका लागि प्रदान गरिएको जग्गा उपलब्ध गराइ प्रहरी कार्यालयलाई आफ्नै भवनमा राख्न आग्रह गर्नुभयो ।

उहाँले नेपाल प्रहरीले ३२ सय बढी प्रहरी इकाईहरुमार्फत सेवा प्रवाह गर्दै आएको उल्लेख गर्र्दै नेपाल प्रहरी देशकै सबैभन्दा बढी नागरिकसमक्ष पहुँच भएको संस्था रहेको बताउनुभयो । उहाँले नेपाल प्रहरी सामाजिक सञ्जालमार्फत करिव २६ लाख भन्दा बढीसँग भर्चुअल्ली जोडिएको बताउनुभयो । उहाँले आर्थिक वर्ष २०७७/०७८ को तुलनामा गत वर्ष कुल अपराध दर्ता संख्यामा १७ प्रतिशतले वृद्धि भएको पनि बताउनुभयो ।

उहाँले संगठित अपराध (कर्तव्यज्यान) लगायत संगठित अपराधमा उल्लेख्य कमी आएको बताउनुभयो । महानिरीक्षक सिंहले आर्थिक अपराधका घटनामा केही बढोत्तरी भएको उल्लेख गर्दै आर्थिक अपराध र अपराधीप्रति संगठनले लिएको कठोर नीतिप्रति प्रहरीको भरोसाले अपराध सहेर बसेका पीडितहरु पनि प्रहरी कार्यालयमा आएर निवेदन दर्ता गर्ने शाहसका लागि सक्षम भएको विश्लेषण गरेको बताउनुभयो । उहाँले गत वर्ष नेपालमा अपराध गरी विश्वका विभिन्न स्थानमा लुकेर बसेका १७ जनालाई पक्राउ गरेको र यसवर्ष पनि हालसम्म कतार र मकाओबाट ७ जनालाई पक्राउ गरी कानूनी कारबाही चलाएको बताउनुभयो ।

महानिरीक्षक सिंहले गत वर्ष ११ हजार ५ सय किलो गाँजा र चरेस, ६९ किलो हिरोइन र ५० किलो अफिम बरामद गरी २२१ जना विदेशीसहित ५ हजार ७७९ जनालाई कानूनी दायरामा ल्याएको बताउनुभयो । उहाँले यो एक वर्षको अवधिमा हालसम्मकै सबैभन्दा ठूलो परिणममा बरामद भएको हिरोइन रहेको उल्लेख गर्नुभयो । उहाँले आर्थिक वर्ष २०७७÷०७८ को तुलनामा गत वर्षको राजश्व संकलनमा पनि ४३ प्रतिशतले वृद्धि भएको बताउनुभयो । उहाँले गत वर्ष नेपाल प्रहरीले ४ अर्ब १६ करोड रुपैयाँभन्दा बढी राजश्व संकलन गरेको उल्लेख गर्नुभयो ।

महानिरीक्षक सिंहले निर्वाचन सुरक्षाको दीर्घ अनुभवको सदुपयोग गरी प्रभावकारी प्रहरी तथा म्यादी प्रहरी परिचालन, उत्कृष्ट अन्तरनिकाय समन्वयका साथै शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गरी लोकतन्त्रलाई संरक्षण गर्नेमा प्रहरी प्रशासन प्रतिवद्ध रहेको बताउनुभयो ।