Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


रसुवागढी नाका पुनः खोल्न चीनसँग सहयोग माग


0
Shares

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रसुवागढी–केरुङ नाका पुनः सञ्चालन तथा बाढीबाट क्षतिग्रस्त रसुवाका पूर्वाधार पुनर्निर्माणमा सहयोग गर्न नेपालका लागि चिनियाँ राजदूत वाङ माओमिङसँग आग्रह गर्नुभएको छ।

सिंहदरबारमा बिहीबार भएको शिष्टाचार भेटमा मन्त्री लम्सालले बाढीबाट क्षतिग्रस्त सडक तथा अन्य पूर्वाधार पुनर्निर्माण, रसुवागढी–केरुङ नाका सञ्चालनसँगै कोरला र तातोपानी नाकालाई प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा छलफल गर्नुभएको हो।

मन्त्री लम्सालले करिब ६ लाख नेपालीको सहज आवतजावत र राज्यसँगको सम्पर्क सुनिश्चित गर्न नाका तथा सडक पूर्वाधार तत्काल सञ्चालनमा ल्याउनुपर्ने बताउनुभयो। भोटेकोशीमा आएको बाढीका कारण रसुवागढी नाका बन्द भएकाले पुरानै स्थानबाट अस्थायी सडक तथा यातायात व्यवस्था मिलाउन सरकारले काम गरिरहेको उहाँले जानकारी दिनुभयो।

स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको सडक तत्काल सञ्चालनमा ल्याउन चीन सरकारको सहयोग आवश्यक रहेको भन्दै मन्त्री लम्सालले राजदूत वाङसँग सहयोगका लागि आग्रह गर्नुभयो।

यस्तै, काठमाडौं–रसुवागढी–केरुङ सडकको दीर्घकालीन विकासका लागि नयाँ विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने काम अघि बढाइएको उहाँले बताउनुभयो। आवश्यक स्थानमा नयाँ सडकको ट्रयाक खोल्ने कामसमेत अघि बढाइएको भन्दै त्यसमा चीन सरकारको सहयोग र समन्वयको अपेक्षा व्यक्त गर्नुभयो।

भेटमा चिनियाँ राजदूत वाङले चीन नेपालका असल मित्र तथा छिमेकीका रूपमा आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभएको छ। उहाँले रसुवागढी नाकाको पुनर्निर्माण तथा सञ्चालनका लागि दीर्घकालीन र प्रभावकारी पूर्वाधार निर्माणमा विशेष अध्ययन आवश्यक रहेको धारणा राख्नुभयो।

राजदूत वाङले कोरला र तातोपानी नाका सञ्चालनका लागि चीन सरकार सकारात्मक रहेको जानकारी गराउनुभएको छ। रसुवागढी नाकाको पुनर्निर्माण तथा सञ्चालनसम्बन्धी नेपाल सरकारले विशेष प्रस्ताव पठाए आवश्यक समन्वय र सहयोगका लागि पहल गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभएको मन्त्री लम्सालको सचिवालयले जनाएको छ।

Skip This