रौतहट । उपचारका लागि दाजुसँग गरुडातर्फ जाँदै गरेका एक युवक लालबकैया नदीको पुलबाट हाम फालेर बेपत्ता भएका छन्।
बाराको सिम्रौनगढ नगरपालिका–११ कटहरिया टोलका २७ वर्षीय सचिन्द्र यादव मौलापुर नगरपालिका–४ स्थित लालबकैया नदीको पुलबाट हाम फालेर बेपत्ता भएका हुन्।
प्रहरीका अनुसार बिहीबार दिउँसो करिब १ बजे दाजु ३५ वर्षीय सिकिन्द्र यादवसँग मोटरसाइकलमा गरुडातर्फ जाने क्रममा पुलमा पुगेपछि सचिन्द्र मोटरसाइकलबाट ओर्लिएर अचानक नदीमा हाम फालेका थिए।
दाजु सिकिन्द्रका अनुसार सचिन्द्रको मानसिक अवस्था ठीक नरहेको र उपचारका लागि उनलाई गरुडा लैजाँदै गर्दा घटना भएको हो।
घटनालगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले नदीमा खोजी थालेको छ। इलाका प्रहरी कार्यालय मौलापुरबाट प्रहरी निरीक्षक भरत केसीको नेतृत्वमा १७ जना तथा सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प देवाही गोनाहीबाट गोताखोरसहित सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर नेपालीको नेतृत्वमा ७ जना सुरक्षाकर्मी खोजीमा परिचालन भएका छन्।
लालबकैया नदीमा पानीको बहाव बढेकाले हालसम्म सचिन्द्रको अवस्था पत्ता लाग्न सकेको छैन। गोताखोरसहितको सुरक्षाकर्मी टोलीले खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ।










प्रतिक्रिया दिनुहोस्