पुल निर्माण भएसँगै कमलाखोंचका स्थानीयको आर्थिक जीवनमा परिवर्तन « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Mon Nov 28 2022


पुल निर्माण भएसँगै कमलाखोंचका स्थानीयको आर्थिक जीवनमा परिवर्तन


117
Shares

सिन्धुली । सिन्धुलीकाे कमला नदीमा सडक पुल निर्माण भएसँगै कमलाखोंच क्षेत्रका स्थानीय बासीन्दाको सामाजिक र आर्थिक जीवनमा आमूल परिवर्तन आएको छ ।

विगतमा यहाँका स्थानीय बासीन्दा सडक पुलहरुको अभावमा कष्टकर जीवन बिताएका थिए । तर अहिले भने कमलाखोंच क्षेत्रमा रहेकाे कमलानदीमा आधा दर्जनको संख्यामा सडकपुलहरु निर्माण भएपछि त्यस क्षेत्रको सामाजिक र आर्थिक क्षेत्रमा रुपान्तरण आएको हो । सिन्धुलीको कमलाखोंच क्षेत्रमा पुलको अभावमा वर्षायाममा स्थानीय बासीन्दाहरुलाई कमला नदी आवतजावत गर्न समस्या भएकाे थियो ।

तर पछिल्लो समयमा दुधौली नगरपालिका क्षेत्रमा कमला नदीमा ५ वटा तावा नदीमा २ वटा पुल निर्माण भएपछि स्थानीय बासीन्दाहरुलाई हिउँद र वर्षाकाे समय आवागमनमा सहज भएकाे कमलाखोंचका सुशिला थापाले बताउनुभयाे । मदन भण्डारी राजमार्ग पूर्वीखण्डको निर्माणको क्रममा पुल निर्माणको ठेक्का पाएको रसुवा कन्ट्रक्सन कम्पनी र लुम्बिनी विल्डर्सले कमला नदी क्षेत्रका साना ठूला सबै स्थानमा पुलको निर्माण गरिदिएकाे छ।

जसले गर्दा कमलाखोंच क्षेत्रमा बसोबास गर्ने बासीन्दाहरुलाई आवागमनमा सहज भएकाे छ। सडक पुलको निर्माणले कमलाखोंच क्षेत्रमा अवस्थित दुधौली नगरपालिका र कमलामाई नगरपालिका क्षेत्रमा बसोबास गर्ने स्थानीय बासीन्दाहरुको जीवनयापनका साथै सामाजिक, आर्थिक, शैक्षिक तथा साँस्कृतिक क्षेत्रमा रुपान्तरण भएको हो ।

लामो समयसम्म ओझेलमा परेको कमलाखोंच क्षेत्रको मुहार फेरिदै गएको छ ।