Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


मकवानपुरमा यात्रुबाहक गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु,चार जना घाईते


195
Shares

काठमाडाैं ।

जिल्ला मकवानपुर, इन्द्रसरोवर गाउँपालिका –०२ सुकौरामा यात्रुवाहक गाडी सडकबाट करिब १ हजार मिटर तल खस्दा चालकसहित ४ जनाको मृत्यु भएको छ ।

मंगलबार दिउँसो करिब २:०० बजे काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको म.प्र.०३–००१ ज ०७२० नम्बरको यात्रुवाहक इभी गाडी हेटौंडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डअन्तर्गत सडकबाट करिब १ हजार मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा चालकसहित ४ जना पुरुषको घटनास्थलमै मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । घाइते हुनेमा २ महिला र २ पुरुष रहेका छन् । घाइतेमध्ये २ पुरुष र १ महिलालाई उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको छ भने १ जना महिलालाई उपचारका लागि हेटौंडा पठाइएको छ ।

दुर्घटनालगत्तै प्रहरी चौकी खानीखेत मकवानपुरबाट प्रहरी सहायक निरीक्षक, इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमाण्डमा ट्राफिक प्रहरीसहित २१ जनाको टोली घटनास्थलमा उद्दार कार्यमा खटिएको थियो ।

उक्त यात्रुबाहक ईभी गाडीमा चालकसहित ८ जना सवार रहेको बुझिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Skip This