कैलालीका २१ सहित सुदूरपश्चिममा थप ३२ जनामा कोरोना पुष्टि « Image Khabar


कैलालीका २१ सहित सुदूरपश्चिममा थप ३२ जनामा कोरोना पुष्टि


Imagekhabar
३ असार २०७७, बुधबार १८:४५

बिराज रोस्यारा (इमेज)

कैलाली, असार ३ । सुदूरपश्चिम प्रदेशमा बुधबार ३२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

धनगढीस्थित प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा ३१ र काठमाडौंमा गरिएको परीक्षणमा एक गरी थप ३२ जनामा संक्रमण पुष्टि भएको हो ।

कैलालीका २१, डोटीका पाँच, कञ्चनपुर, बझाङ र अछामका दुई/दुईजनामा कोरोना पुष्टि भएको जनाइएको छ ।

कैलालीमा बुधबार थपिएका २१ जना संक्रमितमध्ये १८ जना गौरीगंगा नगरपालिकामा रहेको पशुपति ‘क्वारेन्टिन’मा रहेका छन् । दुईजना मोहन्याल विश्व माविको क्वारेन्टिनमा छन् ।

काठमाडौंमा पुष्टि भएका एकजनाको स्थानीय तह खुलेको छैन ।

डोटीका पाँचजना संक्रमित दिपायल सिलगढी नगरपालिकाका हुन् ।

बुधबार थपिएका अछामका संक्रमितहरु मेल्लेख गाउँपालिकाका २२ र २४ वर्षीय युवक रहेका छन् ।

यस्तै, बझाङको थलारा गाउँपालिकाकी १० वर्षीया बालिका र खप्तडछान्ना गाउँपालिकाका ७० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका दुईजनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ३७९ पुगेको छ ।

अहिलेसम्म सबैभन्दा बढी कैलालीका १२४ जना, कञ्चनपुरका ७५, डडेल्धुराका ३९, डोटीका ४२, बैतडीका २७, अछामका २२, बाजुराका २१, बझाङका १६ र दार्चुलाका १२ जनामा कोरोना पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएकामध्ये दुईजनाको मृत्यु भइसकेको छ । ५२ जना निको भएर घर फर्किइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्