विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले दशैं र तिहार लगायतका चाडपर्व केन्द्रित सुरक्षा योजना सार्वजनिक गरेको छ ।
सुरक्षाका लागि १ हजार २ सय ९१ प्रहरी परिचालन गरिएको हाे । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले दशैं र तिहारको समयमा हुन सक्ने अपराधिक गतिविधि रोक्न सुरक्षा योजना तयार पारिएको जानकारी दिनुभयो ।
राजमार्ग र सहायक मार्गहरुमा हुन सक्ने अपराधिक र अवाञ्चित कार्यहरुमा समेत प्रहरीले विशेष गस्ती गर्ने उहाँले बताउनुभएकाे छ । चाडपर्वमा सरकारी कार्यालय, महत्वपूर्ण प्रतिष्ठान, बैंक तथा वित्तीय संघ संस्था, सुनचाँदी पसलको भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्था मिलाइने प्रहरी उपरीक्षक कोइरालाले बताउनुभयो ।
प्रहरीले दशैं र तिहारमा घर जाने आउने यात्रुहरुको भीडभाड हुने भएकोले जिल्लाका विभिन्न ६ स्थानमा यात्रु सहायता कक्षामार्फत सेवा प्रवाह गर्ने तयारी गरेको छ । भुइँचम्पा, पटका लगायतका विस्फोटक पदार्थको प्रयोगबाट अगलागीका घटना हुने तर्फ प्रहरीले विशेष अभियान पनि सञ्चालन गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्