विज्ञान: ‘युग’ प्रभाव चिन्तन–१ - Image Khabar
Everest Bank

विज्ञान: ‘युग’ प्रभाव चिन्तन–१

उद्धव कुईँकेल ।

पूर्वीय दर्शनको अमूल्य धरोहर वैदिक संस्कृत वाङ्मय ‘अथर्ववेद’का ऋचा रहस्यै रहस्यले भरिएको अपूर्व मन्त्र हो । यही मन्त्रको आंशिक रूप नै अहिलेको ‘तन्त्र’, ‘जन्त्र’ र ‘यन्त्र’ हो । तन्त्र भन्नाले शासन अर्थात हालको विश्वव्यापी लोकतान्त्रिक व्यवस्था । जन्त्र परम्परित झारफुक विधिको बुटी(Locket) र यन्त्र भन्या चाहिँ विज्ञान, आविष्कार र अनुसन्धानका विषयगत उपकरण तथा वस्तु भन्ने बुझिन्छ ।

हजारौँ वर्ष पूर्वको यही मन्त्र निर्दिष्ट लौकिक संसाधन निर्माण तिनको समुचित भोग, उपयोग, कालान्तरमा आवश्यकता अनुसार सुरक्षित व्यवस्थापन एवं निष्काशन जस्ता सार्वकालिक सूत्र(जुक्ति) प्रयोगको भावभूमि नै विज्ञान उत्पत्तिको आधार हो। यही आधारमा विज्ञानको प्रभावकारी तथा चामत्कारिक गति अघि बढेको हो।

अत: उल्लिखित पृष्ठभूमिमा एवं आधुनिक पश्चिमा भौतिक नवीन आविष्कार, गहन विचार तथा प्रयोगात्मक मान्यता अनुसार २०औँ र हालको २१औँ शताब्दी विज्ञानको उच्चतम युग स्थापित हुन पुगेको मान्न सकिन्छ। हुन पनि हो, यो हालसम्मकै भोग्य, प्राप्य र दृश्य जीवन जगतका सूक्ष्म अणु परमाणुदेखि यो स्थूल विराट भूमण्डलका प्राणी तथा प्रकृतिका हरेक क्रिया प्रतिक्रियामा विज्ञानको पहुँच देखिन्छ।

जल, जमिन, जंगल, सगर(आकाश) सागर-शिखरभन्दा माथि अनन्त अन्तरिक्षसम्मका सबै आवत जावतका उन्नत साधनहरुमा पनि विज्ञानको सशक्त उपस्थिति विद्यमान छ। यसैगरी शिक्षा-स्वास्थ्य-सञ्चार, व्यापार-व्यवसाय-वाणिज्य, विकास निर्माण पूर्वाधार, उद्योग-कलकारखाना, कृषि औजार, प्रकाशन सुशासन जलाधार, जलविद्युत उत्पादन प्रसारणतार-सम्ममा सर्वत्र विज्ञान प्रदत प्रविधिको दह्रो पहुँच छ।

यतिमात्र नभई दैनिक मानवीय अत्यावश्यकका छिनछिन र दिनदिनका घरायसी उपभोग्य खाना-नाना-छाना-दाना जस्ता प्रत्येक वस्तु उत्पादन र वितरणमा समेत विज्ञानलाई नकार्न सकिन्न। एवम् रीतले मानव गुण, सिप, विद्या-बुद्धि, पठनपाठन आर्जन को पाठशाला, व्यक्तिगत घर, तारे घर(होटल), खाजा घर र रेस्टुरेन्ट आदि स्थलका पाकशाला, कोल्ड ड्रिङ्क-हट ड्रिङ्क मधुशाला, पशुप्राणी भरणपोषण गौशाला तथा मांसाहारी बधशाला एवम् शारीरिक तन्दुरुस्तीका व्यायामशालामा पनि विज्ञानको देन झल्किन्छ।

यो यतिमा मात्र सीमित छैन। यसका दायरा असीमित छन्। यो सर्वव्यापक छ। अगणतीय वनस्पती फूलादि प्रजातिका खोजी र तिनका पहिचानका जाँचमा, युरेनियम र रेडियम विकिरण तत्त्वमा, इन्धन उर्जा, धातु, ठोस वा तरल पदार्थको परीक्षण र उत्पादन आदिइत्यादि भूगर्भ सम्पदा दोहनमा एवम् मानव उपयोगिताका सामुद्रिक नानाथरि वस्तु र विषयमा पनि विज्ञानको महत्त्व स्थापित छ।

एवं क्रमले भू-उपग्रह (Satelite) र अज्ञात ब्रह्माण्डका अनन्त ग्रहहरुको अन्वेषणका उपकरण यन्त्र, चन्द्रयान अथवा मङ्गलयान जस्ता हालसम्मका उच्चकोटीका शक्तिशाली यान (Rover) को लक्षित केन्द्रमा प्रक्षेपण र प्रयोजन अनुरुप परिचालन तथा त्यसका गतिविधिमा सूक्ष्म दृष्टिकोण एवम् आवश्यक तथ्याङ्क (Data) प्राप्ती वैज्ञानिक सार्थक अभियानमा त झन् विज्ञानकै शरणमा पर्नुपर्छ। यी जटिल कार्य सम्पन्न गर्न विना विज्ञान कल्पनासम्म गर्न सकिन्न। त्यसैले यो युग विज्ञान युग हो भन्दा फरक नपर्ला।

अणु परमाणु शस्त्रागार, अत्याधुनिक मिसाइल हातहतियार र यसको आडमा विश्व नियन्त्रणका योजनाकारहरुको पकडमा समेत विज्ञान पसेको छ। पारस्पारिक व्यक्ति मन्त्रण(कुराकानी), भरपुर मनोरञ्जन, राज्यशान्ति सुरक्षण एवम् आर्थिक कारोबार वस्तुवितरण जस्ता उपकरणमा पनि विज्ञानको हाजिरी पाइन्छ। मान्छेका हरक्षणका गतिविधि पूरा गर्न र अन्य व्यवहार विधि चलाउन पनि विज्ञानको सहायताविना असंभव छ।

विज्ञानका यिनै जादुमयी तिलस्मीले प्रभावित भएर नयाँ-पुराना पुस्ता, धनी-गरिब तथा साना-ठूला सबै तह र वर्गकाले `उहिलेका कुरा खुइले विज्ञान चाहिन्छ पहिले´ भन्ने उल्लिखित कुरामा सायद मत जाहेर गरेका होलान्।

यो पृथ्वीतलमा काहीँ कतै त्यस्तो ठाउँ छैन जहाँ विज्ञानले एकाधिकार नजमाएको होस्। कृषि पैदावर व्यक्तिगत पेशा, साना ठूला पुल पुलेसा, धनवानजनका प्रदर्शनी पावर, चमचमाहट गगनचुम्बी टावर, सदाबहार व्यापारिक स्थलको विशाल कम्प्लेक्स एवम् भव्य झकिझकाउ निजी प्यालेस जहाँतहीँ विज्ञानले पाउ पसारेको छ। सारा सृष्टि उसैको गुलामीमा सलामी ठोक्न मजबुर छन्।

त्यसैले आधुनिक अद्वितीय(Unique) मानव सूचना, संगीत, साहित्य, संस्कृति तथा कलामा समेत विज्ञानको चमत्कारमा सगर्व नमस्कार सहित ऊ विज्ञान समर्थक भा होला ? नहुनु पनि किन? यही विज्ञान प्राप्त विकसित सञ्चार साधनको स्क्रिनमा टच वा क्लिकको भरमा विश्व शासनप्रशासनको सञ्चालनमा सार्थक उपस्थिति संसंगै मानव घरायसी, कार्यालयीय र अन्य विविध कार्य एकै ठाउँबाट सम्पन्न गर्ने सामर्थ्य राख्दछ। अनुकूलता र प्रतिकूलताका भाँतिभाँतिका संवाद सम्पर्क बढाउन पनि सक्षम भाछ।

व्यक्ति, समाज, क्षेत्रीय, एकदेशीय एवम् बहुदेशीय स्वार्थी निसाफ, भरमार आर्थिक हिसाब, पाच्य अपाच्य उपदेशका किताब तथा स्वघोषित विश्व विजेताको खिताब (उपाधि) यही अत्याधुनिक सर्व पहुँच सञ्चार यन्त्र माध्यमले पलभरमै ऊ अवस्था अनुसारका आवश्यकतालाई पूर्णता दिन्छ।

विज्ञान प्रयोग प्रविधिको घेरा यतिमा मात्र छ भन्न मिल्दैन। यसको फैलावट फराकिलो छ। जटिल स्वास्थ्य उपचार, मानव सेवा हेरविचार, सामाजिक शान्ति, राष्ट्रिय सुरक्षा, औद्योगिक प्रतिष्ठान संचालन, दैविक वा प्राकृतिक प्रकोप उद्धार, निवारण र न्यूनीकरण एवम् विकास निर्माण जस्ता नाना क्षेत्रगत विषय र जोखिम स्थलमा समेत प्रयोग गर्न मिल्ने नवीनतम अाविष्कार स्वचालित यन्त्रमानव परिचालनबाट यस युगमा उसको उपादेयता र अपरिहार्यतालाई चाहेर वा नचाहेर पनि स्वीकार्न हामी बाध्य छौँ। विवश छौँ र ऊ विना लाचार पनि छौँ ।

यति हुँदाहुँदै पनि विज्ञान स्वयं पूर्ण भने छैन। यो अपूर्ण नै छ। हाल विश्वव्यापी महामारी रोकथाममा अलमलिएको छ। विकराल रोगले भयभित र पीडित मानव जातिलाई अर्थपूर्ण उपचार विधि र रोग निर्मूल पार्ने ओखती प्रदान गर्न यो असमर्थ पनि देखिन्छ।

यद्यपि ऊ यतिखेर अहोरात्र प्रयोगशालामा थरिथरिका परीक्षण, अनुसन्धान र औषधि परिशोधन जस्ता वैज्ञानिक विधिमा तल्लीन छ। आशा गरौँ विज्ञान अन्य कुरामा झैँ विगतसरि वर्तमान र निकट भविष्यका यो प्रतिकूल घडीमा मानवीय संवेदनशील तथा जटिल रोग,भोक र शोकलाई एकसाथ अन्त्य गर्न ऊ सफल होस्। कामना राखौँ भूतकालको र अहिलेको स्वर्णिम गौरवमय इतिहास एवं प्रतिष्ठालाई यसले कायम राखोस्।

अतः उपर्युक्त कारणले मानव जीवन एवम् जगतमा विज्ञान प्रभाव र दबाबका साथै हाम्रो स्वभाव पनि उसैमा घुलन, भुलन र मिलन हुन पुगेको छ ।                           

तैपनि विना+ज्ञान(विवेक)=`विज्ञान´ अधुरो छ…।

[email protected]

प्रतिक्रिया दिनुहोस्