Logo २६ माघ २०८२, सोमबार | Tue Feb 10 2026


दशैँमा काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा


182
Shares

काठमाडाैं । नजिकिँदै गरेको दशैँ, तिहार लगायतका चाड पर्वलाई लक्षित गरी ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

दशैँ, तिहार तथा छठ पर्वको समयमा आवतजावत गर्ने यात्रुहरुको चाप बढ्ने भएकाले यात्रुहरुलाई सहयोग गर्ने उद्देश्यले उपत्यकाको १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको हो । बुधवार पत्रकार सम्मेलन गर्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सो कुराको जानकारी गराएको छ ।

कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले नागढुङ्गा, कलंकी, स्वयम्भू, माछापोखरी, नयाँ बसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको जानकारी दिनुभयो । सो कक्षबाट २ वटा गुनासो समेत सुनिएको उहाँले बताउनु भयो ।

चाडपर्व लक्षित अनुगमन प्रहरी उपरीक्षकको कमाण्डमा भइरहेको जनाइएको छ । दशैँ अवधिभर १ हजार ४६८ जना ट्राफिक प्रहरी खटाइने प्रवक्ता भट्टले बताउनु भयो । प्रहरी नायब उपरीक्षकको कमाण्डमा उपत्यकाका विभिन्न स्थानमा यात्रुवाहक सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन हुने सार्वजनिक सवारी साधनको यान्त्रिक परीक्षण गरेर मात्र सञ्चालन गर्ने व्यवस्था मिलाइएको उहाँको भनाइ छ ।

८ ठाउँबाट यान्त्रिक परीक्षण भइरहेको उहाँले जानकारी दिनुभयो । त्यसैगरी नियमित ३६ स्थानमा चेकिङ भइरहेकोमा थप ३५ स्थानमा चेकिङ हुने जनाइएको छ । उपत्यकाबाट बाहिरिने नाकामा दैनिक एक स्थानमा लागु पदार्थ सेवनको पनि चेकिङ गरिने बताइएको छ । त्यस्तै तिब्र गतिको चेकिङ ५ स्थानमा र लामो दूरीका सवारी साधनहरुलाई लक्षित गरी विशेष चेकिङ ९ स्थानमा गरिरहेको प्रवक्ता भट्टले बताउनु भयो ।

उहाँले बसपार्क क्षेत्र, कलंकी, बल्खु, कोटेश्वर, पुरानो बसपार्क, गौशालामा सादा पोशाकमा प्रहरी परिचालन गरी बढी भाडा लिने, फर्जि टिकट तथा डबल टिकट काट्ने व्यक्तिमाथि निगरानी राखि आवश्यक कारबाही गरिने पनि जानकारी गराउनु भयो ।

Skip This