४ असार २०८२, बुधबार | Wed Jun 18 2025


कलाका विभिन्न विधाहरुलाई एकीकृत गर्नुपर्छः उपकुलपति शर्मा


65
Shares

काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उप–कुलपति एवं वरिष्ठ कलाकार हरिहर शर्माले कलाका विभिन्न विधाहरूलाई एकीकृत गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

मंगलबार नेपाल म्युजिक भिडियो निर्देशक समाजले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले नेपाली कलाको क्षेत्रमा अर्को एक नयाँ संस्थाको उदय भएकोमा भएकोमा खुशी व्यक्त गर्नुभयो । साथै उपकुलपति शर्माले चलचित्र र म्युजिक भिडियोको महत्व समान रहेको बताउनुभयो । उहाँले गीत नभइ चलचित्र पूर्ण हुन नसक्ने भन्दै गीत र चलचित्रलाई समान व्यवहार गर्नुपर्ने बताउनुभयो । 

त्यस्तै, समाजका अध्यक्ष विधान कार्कीले नेपाली म्युजिक भिडियो निर्देशकहरूको परिचय र पहिचान स्थापित गर्दै उनीहरूका हकहितका लागि काम गर्ने उद्देश्यका साथ संस्थाको स्थापना भएको बताउनुभयो । उहाँले म्युजिक भिडियोलाई राज्यबाट पहिचान दिलाई संस्थागत गर्ने काममा संस्था लागिरहेको बताउनुभयो ।

कार्यक्रममा कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले अहिले एउटा चलचित्रकर्मीले बनाएको चलचित्रमा अर्कोले खुट्टा तान्ने काम भइरहेको बताउनुभयो । उहाँले प्रेमगीत ३ टिमले खर्च गरेअनुसारको लगानी उठाउन चलचित्र विकास बोर्डले ल्याएको करको नीतिले मारमा पर्‍यौं भन्ने आग्रह कुनै संघसंस्थामा गरेको खण्डमा यस्ता अफवाह नफैलिने बताउनुभयो । उनले प्रेमगीत टिमले कुनै आग्रह बिना नै चलचित्र विकास बोर्डका अध्यक्षमाथि आरोप लगाएको समेत बताउनुभयो ।

नेपाल म्युजिक भिडियो निर्देशक समाजले नेपाली म्युजिक भिडियो क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउनुहुने तीन जना निर्देशकहरूलाई सो अवसरमा सम्मान प्रदान गरेको थियो । वरिष्ठ म्युजिक भिडियो निर्देशकत्रय सहेन्द्र श्रेष्ठ, प्रकाश भट्ट र संगीता श्रेष्ठलाई म्युजिक भिडियोको क्षेत्रमा पुर्‍याएको योगदान स्वरुप विशिष्ट सम्मान गरिएको थियो ।

समाजका संरक्षक बाबुराजा केसी ‘उज्ज्वल’ तथा सल्लाहकारहरू वरिष्ठ गायक, संगीतकार, गीतकार, चलचित्र लेखक तथा निर्देशक नारायण रायमाझी, नेपाली गीतसंगीत तथा चलचित्रका डिजिटल प्रवर्द्धक ओम प्रकाश अग्रवाल, चर्चित निर्देशक एवं कोरियोग्राफर शिव बि.क. र प्रेस सल्लाहकार जीवन पराजुलीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।