Logo ५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026


‘फेसन फिभर रनवे’ को दोस्रो संस्करणमा ९० बढी मोडलको उत्साहजनक सहभागिता


39
Shares

काठमाडौं । ‘फेसन फिभर रनवे’ को दोस्रो संस्करणका लागि भएको अन्तिम चरणको अडिसनमा ९० भन्दा बढी उदीयमान मोडल तथा नयाँ प्रतिभाको उत्साहजनक सहभागिता देखिएको छ।

नेपालमा नयाँ पुस्ताका मोडल तथा फेसन र सिर्जनशील क्षेत्रका प्रतिभालाई एउटै मञ्चमा ल्याउने उद्देश्यसहित ‘फेसन फिभर रनवे’ को दोस्रो संस्करणकाे आयोजना गरिएकाे हाे। अडिसनमा विभिन्न पृष्ठभूमि, उमेर, व्यक्तित्व, शारीरिक बनावट तथा अनुभव भएका प्रतिभाहरू सहभागी भएका थिए । सहभागीहरूले आफ्नो आत्मविश्वास, व्यक्तित्व, प्रस्तुति क्षमता तथा र्‍याम्पमा प्रस्तुत हुन सक्ने सम्भावना प्रस्तुत गरेका हुन् । अडिसनको निर्णायक मण्डलमा वसिम मलिक, दीक्षा जे. थापा, सान्या केशवानी र सुप्रिम पाण्डे रहेका छन् ।

फेसन, संगीत, मोडलिङ, कला तथा सिर्जनशील क्षेत्रसँग सम्बन्धित उनीहरूले सहभागीहरूको प्रस्तुति अवलोकन गर्दै आवश्यक सुझाव तथा प्रोत्साहनसमेत दिएका हुन् । जसले मोडलिङलाई परम्परागत सौन्दर्यको सीमित परिभाषामा मात्र नराखी फरक अनुहार, उचाइ, शरीरको बनावट, लैङ्गिक पहिचान, व्यक्तित्व तथा प्रस्तुतिलाई समेत स्थान दिने उद्देश्य राखेको आयोजकले जनाएकाे छ। आयोजकका अनुसार प्रत्येक व्यक्तिको आफ्नै पहिचान, कथा र सम्भावना हुने भएकाले फेसनको क्षेत्रमा प्रतिभा र व्यक्तित्वलाई प्राथमिकता दिनुपर्ने अवधारणाका साथ फेसन फिभर अघि बढाइएको हो ।

फेसनसँगै संगीत, कला र सिर्जनशील क्षेत्रलाई जोड्दै दोस्रो संस्करण पहिलो संस्करणबाट प्राप्त उत्साहजनक प्रतिक्रियापछि फेसन फिभरकाे दायरा अझ फराकिलो अवधारणासहित आयोजना हुँदैछ । दोस्रो संस्करणमा मोडल तथा डिजाइनरसँगै फेसन ब्रान्ड, मेकअप आर्टिस्ट, संगीत, कला, मनोरञ्जन, उद्यमशीलता तथा अन्य सिर्जनशील क्षेत्रका व्यक्तित्वलाई समेत जोड्ने तयारी गरिएको हाे । आयोजकका अनुसार यो कार्यक्रम केवल परम्परागत फेसन शोमा सीमित नभई नयाँ प्रतिभाको विकास, सिर्जनशीलता, सहकार्य र व्यावसायिक अवसर सिर्जना गर्ने उद्देश्यसहित अघि बढाइएको हो ।

फेसन फिभरका संस्थापक वसिम मलिक फेसन कोच, कोरियोग्राफर तथा निर्देशकका रूपमा सक्रिय छन् । उज्वल श्रेष्ठ फेसन तथा क्रिएटिभ उद्यमीका रूपमा आबद्ध रहेका हुन् । उनीहरूले नेपालका नयाँ पुस्ताका फेसन तथा सिर्जनशील प्रतिभालाई थप व्यावसायिक अवसर र एक्सपोजर उपलब्ध गराउने उद्देश्यले यो प्लेटफर्म अघि बढाएका छन् । दोस्रो संस्करणको अभियानमा विभिन्न क्षेत्रका परिचित व्यक्तित्वहरूलाई समेत जोडिएको हाे । दीक्षा जे. थापा, भेनस खवास, सुप्रिम पाण्डे, हाकिम गुरुङ, विकास लाम्साल र पराक्रम राणा लगायतका व्यक्तित्वहरू अभियान तथा ब्रान्डसँग आबद्ध छन् ।

फेसन, संगीत, मोडलिङ, र्‍याप, कला तथा व्यवसाय क्षेत्रका व्यक्तित्वहरूको सहभागिताले विभिन्न सिर्जनशील क्षेत्रबीच सहकार्य र नेटवर्क विस्तार गर्ने आयोजकको उद्देश्यलाई समेत प्रतिनिधित्व गरेको छ। १९ सेप्टेम्बरमा भएको अडिसनबाट नयाँ प्रतिभाको खोजी फेसन फिभरकाे दायरा अन्तर्गत १९ सेप्टेम्बर २०२६ मा काठमाडौंस्थित रोयल एम्पायर बुटिक होटलमा मोडल अडिसन आयोजना गरिएको थियो ।

अडिसनमा सहभागीहरूले आफ्नो आत्मविश्वास, व्यक्तित्व, शैली तथा र्‍याम्प क्षमता प्रस्तुत गरेका थिए । याेसँगै आयोजकले मोडल तथा डिजाइनरहरूलाई समेत दोस्रो संस्करणमा सहभागी हुन आह्वान गरेको थियो । नयाँ प्रतिभालाई आफ्नो सिर्जनशीलता र पहिचान प्रस्तुत गर्दै नेपालको बढ्दो फेसन उद्योगसँग जोडिने अवसर प्रदान गर्ने उद्देश्य राखिएको आयोजकले जनाएकाे छ । जसले आगामी दिनमा छनोट भएका मोडल, डिजाइनर तथा अन्य सिर्जनशील प्रतिभालाई सार्वजनिक गर्दै रनवे कार्यक्रमको तयारी अघि बढाउने उल्लेख गरिएकाे छ।

आयाेजकले फेसन, प्रतिभा र सिर्जनशीलतालाई एउटै मञ्चमा जोड्दै अघि बढिरहेको फेसन फिभरको दोस्रो संस्करणले नेपालको नयाँ पुस्ताका फेसन तथा क्रिएटिभ प्रतिभालाई थप अवसर र एक्सपोजर दिने लक्ष्य लिएको जनाएकाे हाे।