भक्तपुरमा पुलुकिसी जात्रा मनाइयो « Imagekhabar – Online News Portal of Nepal
९ आश्विन २०७९, आईतवार | Sun Sep 25 2022


भक्तपुरमा पुलुकिसी जात्रा मनाइयो


234
Shares

काठमाडौं । इन्द्रजात्राको अन्तिम दिन बुधबार भक्तपुरमा परम्परागत पुलुकिसी (ऐरावत हात्ती)जात्रा मनाइएको छ ।

पुलुकिसी जात्रा मनाएसँगै भक्तपुरमा इन्द्रजात्रा पनि सम्पन्न गरिन्छ ।

स्थानीय लाकुलाछेंटोलबाट सुरु गरिने पुलुकिसी जात्रा भक्तपुर बुलुचा, नासमना, वंशगोपाल, इटाछे, खौमा, दरबार स्क्वायर, भोलाछें, महालक्ष्मीस्थान, थालाँछें, गछें, सुजमारी, तचपाल, इनाचो, गोल्मढी, तिबुक्छेंलगायतका स्थानमा परिक्रमा गर्ने प्रचलन रहेको छ ।

पुलुकिसी जात्रा गर्नुपुर्व गुठी संस्थाबाट तमारीको भैरवनाथलाई विधिवत्रूपमा बलिसहितको पूजा गरिन्छ । पूजा सकेपछि स्थानीय तल्लो टोलको तेखाचोका मानन्धर समुदायले भैरवनाथको मन्दिरबाट सुकुण्डा बालेर आएपछि बुलुचास्थित चखुन्चा फल्चा (पाटीको नाम) तिर अभिमुख गरी एक जोडा याँमता (आकाशदीप) बालिन्छ ।

दीप बालिसकेपछि भैरवनाथको मन्दिरमा झुण्डाइराखेको पुलुभैलद्योः (मान्द्रोमा चित्रित मसान भैरव)लाई नायखिङ (खड्गी समुदायको विशेष) बाजा बजाएर राँगोको आन्द्राको माला लगाई विधिवत् पूजा गरिन्छ । यो पूजा सम्पन्न गरेसँगै अगाडि याँमता र पछाडि नायखिङ बाजा बजाएर पुलुभैलद्योःको जात्रा सुरु गरिन्छ ।

देवराज इन्द्रका विश्वासिलो सेवक ऐरावत हात्तीको रूपमा लिइने पुलुकिसीलाई वंशगोपाल, इटाछें, चोछें, भोलाछेंलगायतका दोबाटो चौबाटोमा धान खुवाउने, ठाउँ ठाउँमा ओहोरदोहर गराउने, तमारी, दरवार स्क्वायर र तचपालको डबलीमा आगो तपाउने, सुजमारीको तला तुन्छी (इनार)मा पानी खुवाउने परम्परा रहेको छ । जात्रामा पुलुकिसीको सँुढले मानिसलाई छोएमा दशा लाग्छ भन्ने धार्मिक विश्वासअनुसार पुलुसिकी आउ“दा सुँढले छुन्छ कि भनी स्थानीयवासी परपर भाग्ने गर्दछन् ।

जात्राका क्रममा पुलुकिसीले कथंकदाचित मूपात्रलाई भेट्यो भने कुल्चेर मार्दा पनि हात्ती बन्ने पात्र र उनका सहयोगीलाई कुनै बात नलाग्ने भएकाले पुलुकिसी जात्रा नगरको आधाभन्दा बढी ठाउँमा परिक्रमा गरेपछि मात्र मूपात्र जात्रा निकाल्ने गरिन्छ । यस दिन भैरवनाथको मुख्यद्वारबाट मूपात्र जात्रा निकाल्ने परम्परा छ । मूपात्र जात्रा निकालेसँगै भक्तपुरमा तीन दिन मनाइने मूपात्र र याँमता जात्रा सम्पन्न गरिन्छ ।

देवीपुराण गन्थ्रअनुसार इन्द्रजात्रासँग सम्बन्धित यस पुलुकिसी जात्रा देवराज इन्द्रका पुत्र जयन्तलाई खोज्न हिँडेको सम्झनामा मनाइने गरेको इतिहास संस्कृतिकर्मी प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठले बताउनुभयो ।