Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


पाँच दिने नेपाल भ्रमण सकेर भारतीय सेनाध्यक्ष पाण्डे स्वदेश फिर्ता


91
Shares

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा आउनुभएका मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे नेपालको पाँच दिने औपचारिक भ्रमण सम्पन्न गरी बिहीबार स्वदेश फिर्ता हुनुभएको छ ।

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाइ गर्नुभएको छ । भ्रमणका क्रममा नेपाल र भारतका सेनाध्यक्षहरुलाई एकअर्का देशको मानार्थ महारथीको दर्जाबाट सुशोभित गर्न विशिष्टीकृत एवं ऐतिहासिक परम्पराको निरन्तरता स्वरूप सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको थियो ।

भ्रमणकै दौरान जङ्गी अड्डामा प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय स्थल सेनाध्यक्षबीच औपचारिक भेटवार्ता भएको थियो । उक्त भेटवार्ताका क्रममा दुई देशको आपसी सुरक्षा चासोका विषयमा छलफल भएको थियो ।

भारतीय स्थल सेनाध्यक्ष पाण्डेले भ्रमणका क्रममा मंगलबार रक्षामन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुभएको थियो । उहाँले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेज र पोखरास्थित नेपाली सेनाको मध्य कमाण्ड हेडक्वार्टरको समेत भ्रमण गर्नुभएको थियो । उहाँले भारतबाट सहुलियतरूपमा आएको रु २२ करोड ३८ लाख बराबरको सैन्य सामग्रीसमेत हस्तानतरण गर्नुभएको थियो ।

उहाँको भ्रमणले दुई देशबीच रहँदै आएको सौहार्दपूर्ण सैनिक सम्बन्धलाई अझ सुमधुर एवं प्रगाढ पार्न थप मद्दत पुग्ने विश्वास लिएको नेपाली सेनाले जनाएको छ ।