Logo ६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026


निर्वाचन आयोगद्वारा प्रारम्भिक मतदाता नामावली प्रकाशित


819
Shares

काठमाडाैं। निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन गरेको छ।

आयोगले नामावलीमा समावेश विवरण सच्याउन, अयोग्य व्यक्तिको नाम हटाउन तथा दावी–विरोध दर्ता गर्नका लागि असोज १२ गतेसम्म समयसीमा निर्धारण गरेको हाे । सार्वजनिक गरिएको प्रारम्भिक नामावलीमा गत भदौ १५ गतेसम्म नाम दर्ता गराएका मतदाताहरूको विवरण समावेश गरिएको छ । नामावलीमा नाम, थर वा जन्ममितिमा कुनै त्रुटी भए मतदाताले आयोगको वेबसाइटमार्फत अनलाइन नै सच्याउन निवेदन दिन सक्ने निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो ।

आयोगले हाल दुई विधिमार्फत मतदाता नामावली संकलन तथा अद्यावधिक गरिरहेको छ । राष्ट्रिय परिचयपत्र (एनआईडी) मा आवद्ध भइसकेका मतदाताहरूले अनलाइन प्रणालीमार्फत नै आफ्नो तस्बिर तथा बायोमेट्रिक्स विवरण पेश गर्न सक्ने भएका आयाेगले जनाएकाे हाे। परिचयपत्रमा आबद्ध नभएकाहरूले भने सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा उपस्थित भएर विवरण उपलब्ध गराउनुपर्ने प्रावधान रहेकाे छ।

दिएको समयावधि व्यक्तिगत विवरण सच्याउनका साथै नामावली शुद्धीकरणका लागिसमेत उपयोग गरिने सूचना अधिकारी घिमिरेले जानकारी दिनुभयो । आयोगदले तोकिएको म्यादभित्र प्राप्त हुने निवेदन तथा दावी-विरोधउपर आवश्यक छानबिन गरी मतदाता नामावलीलाई अन्तिम रूप दिने जनाएकाे छ।