१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


काभ्रेको भुम्लुमा रेबिज आंतक

'बौलाहा कुकुरले टोकेका ५० भन्दा बढी चौपाया मरे'

520
Shares

काभ्रे । काभ्रेको भुम्लु गाउँपालिकामा रेबिजको जोखिम बढेको छ । धमाधम पशुचौपाया मर्न थालेपछि स्थानीय त्रसित भएका छन् ।

भुम्लु गाउँपालिकाका विभिन्न स्थानमा एक महिनाको अवधिमा ५० भन्दा धेरै पशु चौपाया मरेका छन् । स्थानीयले मरेका राँगा र भैंसीको मासु खाएपछि गाउँमा झनै त्रास बढेको हो ।

स्वास्थ्य कार्यालय काभ्रे, भुम्लु गाउँपालिका स्वास्थ्य शाखा, पशु स्वास्थ्य शाखाले रोकथामको प्रयास गरे पनि पशु मर्ने क्रम रोकिएको छैन् ।

स्वास्थ्य शाखा प्रमुख सुर्दशन भट्टराईले भैंसीको मासु खाने १९ परिवारका ५१ जना सहित २ सय ८९ जनालाई रेबिज विरुद्धको खोप लगाईएको जानकारी दिनुभयो ।

अहिलेसम्म ४ वटा भैंसी, ३ वटा गाई, दुई वटा कुकुर र ३० भन्दा धेरै बाख्रा मरेका छन् । जसमध्ये एउटा भैंसी र राँगोमा रेबिज पुष्टि भएको थियो ।

भैसीको सिनो खाल्टोबाट निकालेर परिक्षण गर्दा रेबिज पुष्टि भएको हो । रेबिज भएको कुकुरले धेरै पशुलाई टोकेको र भाँडाकुँडामा र्‍याल चुहाएको स्थानीयले बताएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले कुकुरलाई रेबिज विरुद्धको खोप लगाउन र कुकुरको टोकाइबाट बच्न आग्रह गरेको छ ।