८ असार २०८१, शनिबार | Sat Jun 22 2024


डेंगु रोग नियन्त्रणको लागि सरकारले तत्काल पहल गर्न सांसदहरुको माग


140.725k
Shares

काठमाडौं ।  प्रतिनिधि सभा सदस्य बिनाकुमारी श्रेष्ठले पछिल्लो समय डेंगु देशभर फैलिएको भन्दै डेंगु रोग नियन्त्रणको लागि सरकारले तत्काल पहल गर्न माग गर्नुभएको छ ।

आईतबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद श्रेष्ठले यस्तो माग गर्नुभएको हो । उहाँले जनवरी महिना यता २ हजार २७ जनालाई डेंगु रोग लागेको बताउनु भयो । सांसद श्रेष्ठले अहिलेसम्म देशका ७२ जिल्लामा फैलिएको बताउनु भयो । उहाँले ललितपुरमा डेंगुको बिरामी अत्याधिक रहेको र काठमाडौं, धादिङमा समेत फैलिन थालेको बताउनु भयो ।

त्यस्तै प्रतिनिधि सभा सदस्य विन्दा पाण्डेले त्रिभूवन विश्वविद्यालयमा भएको तालाबन्दीमा सरकारको सहभागिता निन्दा योग्य रहेको बताउनु भयो । उहाँले विश्वविद्यालयमा मौलाएको बेथिति सबैको चिन्ता र चासोको विषय बन्नुपर्छ भनेर जरुरी सार्वजनिक महत्वको प्रश्ताव दर्ता गराउँदा संसदमा छलफल गर्न समेत सरकार तयार नभएको बताउनु भयो । पाण्डेले विश्वविद्यालय सम्बन्धि प्रश्तावलाई कार्यसूचिमा प्रस्तुत गरी समस्याको दीर्घकालिन समाधान खोज्न माग गर्नुभयो ।

सांसद विमला विश्वकर्माले नेपालीहरुको महान पर्वहरु नजिक आएकाले बजारको अत्याधिक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारसँग माग गर्नुभयो । उहाँले बजारमा हेरक खाद्यान्नदेखि डिजेल पेट्रोलको समेत मूल्यवृद्धि भएकाले सामान्य नागरिकलाई विहान बेलुका दुई छाक टार्नसमेत समस्या भएको बताउनु भयो । उहाँले पछिल्लो समय रोग सबैतिर फैलिएको डेंगु र मूल्यवृद्धि नियन्त्रण गर्न सरकारसँग माग गर्नुभयो ।

त्यस्तै सांसद शक्तिबहादुर बस्नेतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत कर्णाली क्षेत्रका स्थानीय बासीलाई स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो । उहाँले कर्णालीका जनतालाई स्वास्थ्य सेवा दिने उद्देश्यले स्थापना भएको प्रतिष्ठाले उदेश्य अनुरुप कर्णालीका जनताले स्वास्थ्य सेवा पाउन नसकेको बताउनु भयो ।

सांसद शेरबहादुर तामाङले विपद् जोखिम न्यूनिकरण गर्ने प्राधिकरण गठन भएपनि मेलम्ची क्षेत्रमा विपद् व्यवस्थापनमा प्राधिकरण उपस्थित हुन नसकेको बताउनु भयो । उहाँले विपद् व्यवस्थापनमा सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको बताउनु भयो ।