
काठमाडौं । विश्वकै ठूलो मध्येको एक जर्मनीको एअरलाइन्स लुफ्थान्सा एअरलाइन्सका पाइलटले हडताल गरेपछि भोलिका उडान ठप्प हुने भएका छन् ।
पाइटलको हडतालका कारण म्युनिख र फ्राङ्कफर्टबाट हुने सबैजसो उडान रद्द गरिएको समाचार संस्था एएफपीले जनाएको छ । भोलिका लागि तय भएका आठ सय वटा उडान रद्द हुँदा एक लाख ३० हजार जना यात्रुको यात्रा प्रभावित भएको खबरमा उल्लेख छ ।
भोलिको हडतालले गर्दा आउँदो शनिवार र आइतवारसम्मका उडान पनि प्रभावित हुने एअरलाइन्सले जनाएको छ । लुफ्थान्सा एअरलाइन्स मासिक नौ सय युरोका दरले तलब बढाउन तयार भएको छ तर पाइलटहरूले भने वार्षिक साढे पाँच प्रतिशत तलब वृद्धिको माग गर्दै आएका छन् ।
रुस–युक्रेन युद्धको कारण इन्धन र खाद्यान्नको भाउ बढ्दा युरोपमा समग्र मूल्यवृद्धि आकाशिएको छ । अब जर्मनीको एअरलाइन्स मात्र नभइ युरोपभर नै तलब वृद्धिको माग राखेर आन्दोलन हुन सक्ने आँकलन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्