८ असार २०८१, शनिबार | Sat Jun 22 2024


मन्त्री भुसालद्वारा विद्युतीय चार्जिङ स्टेसन उद्घाटन


208
Shares

काठमाडौं ।  उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले विद्युत निर्यातले देशको व्यापार घाटा कम गर्न महत्वपूर्ण योगदान रहने बताउनुभएको छ ।

मंगलवार नेपाल विद्युत प्राधिकरणले काठमाडौंको रत्नपार्कमा मंगलवारदेखि सञ्चालनमा ल्याएको चार्जिङ स्टेसनको उद्घाटन गर्दै मन्त्री भुसालले विद्युत निर्यातले देशको अर्थतन्त्रलाई उकास्ने बताउनुभएको हो ।

मन्त्री भुसालले देशले विद्युतको क्षेत्रमा ठूलो क्रान्ति गरिरहेको बताउनु भयो । उहाँले मुलुक भित्रकै जलस्रोतबाट विद्युत उत्पादन गरेर आफैँले प्रयोग गर्नु महत्वपूर्ण काम भएको बताउनु भयो ।

मन्त्री भुसालले यातायात सञ्चालनको लागि विदेशबाट डलर खर्च गरेर करिव ३ खर्बको डिजेल र पट्रोल आयात हुने अवस्थालाई अब उत्पादित विद्युत खपत बढाउने एक मात्रै माध्यम विद्युतीय यातायातको विकल्प नभएको बताउनु भयो । उहाँले पछिल्लो एक वर्षमा विद्युत खपत २२ प्रतिशतले बढेपनि विद्युतीय यातायातको सोचे जस्तो विकास नभएको बताउनु भयो ।

उहाँले रुस र युक्रेन युद्धको कारण विश्वले भोगेको मुख्य समस्या ऊर्जा शंकट भएको बताउनु भयो । मन्त्री भुसालले विश्वका धेरै देशहरुलाई डिजेल र पट्रोलको प्रतिस्थापनको विकल्प नभएको भन्दै नेपालमा डिजेल र पट्रोलको विकल्प विद्युतबाट परिपूर्ति गर्नुपर्ने बताउनु भयो ।

उहाँले विद्युत खपत बढाउने तथा बढी भएको विद्युत निर्यातमार्फत मुलुकको व्यापार घाटा कम गर्न योगदान गर्ने बताउनु भयो । मन्त्री भुसालले आत्मनिर्भर अर्थतन्त्रका लागि सञ्चारमाध्यमहरुले जलविद्युतको विकासमा जोड दिनुपर्ने बताउनु भयो । उहाँले पछिल्लो समय मुलुकमा विद्युतीय सवारीसाधनको माग अत्याधिक रहेको बताउनु भयो ।