२४ मंसिर २०८०, आइतबार | Sun Dec 10 2023


मिचाहा वर्गलाई कानून मिचेर मोटाउन नदिने: मेयर साह


1.937k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले मिचाहा वर्गलाई कानून मिचेर मोटाइ रहन नदिने बताउनुभएको छ ।

पछिल्लो समय महानगरभित्र बनेका अवैध संरचना हटाउने अभियानलाई तीव्रता दिनुभएका मेयर साहले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । अब मिचाहा वर्गलाई कानून मिची रहन र अझ मोटाइ रहन नदिने भन्दै उहाँले विज्ञप्तिमा आवश्यकता र औचित्यको आधारमा कार्यकारीणी शक्तिको प्रयोग गरेर विधिको शासन स्थापित गर्ने बताउनुभएको छ ।

सकेसम्म मिचाहा प्रवृत्तिको रोकथाम गर्ने र रोकथाम नभए नियन्त्रण गर्ने र अन्ततः न्यायिक निरूपण गरी मिचाहालाई दण्डित पनि गर्ने विकल्प महानगरसँग खुला रहेको उहाँकाे भनाइ छ । अनाधिकृत निर्माण, अतिक्रमण तथा गलत प्रयोगलाई रोक्न अहिले महानगर रोकथाम तथा नियन्त्रण सम्बन्धी कारबाहीको चरणमा रहेको पनि उहाँले प्रष्ट पार्नुभएको छ ।

अनाधिकृत संरचना हटाउन महानगरले आफूमा अन्तरनिहित कार्यकारिणी अधिकारको प्रयोग गरेको उहाँकाे तर्क छ । अनाधिकृत निर्माण कार्य वा आफैंले गरेको कबुलियत उल्लंघन गरेको कार्यको तत्काल रोकथाम तथा नियन्त्रण गर्नु महानगरको दायित्व भएको समेत जारी विज्ञप्तिमा भनिएकाे छ ।