Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


खुला टेबल टेनिस असोज पहिलो साता हुने


52
Shares

काठमाडौं । काठमाडौं खेल मण्डल (केकेएम)/न्युरोड टिम (एनआरटी)को आयोजनामा असोज दोस्रो साता केकेएम–एनआरटी खुला टेबल टेनिस प्रतियोगिता आयोजना हुने भएको छ ।

आयोजक काठमाडौं खेल मण्डल÷न्युरोड टिम (एनआरटी) ले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता असोज ४ गतेदेखि ८ गतेसम्म आयोजना हुने जनाएको हो ।

अखिल नेपाल टेबल टेनिस संघ तथा नेपाल भेट्रान्स टेबल टेनिस संघको तत्वावधानमा सञ्चालन हुने प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो ।

प्रतियोगितामा नेपालका राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी तथा विदेशी खेलाडी समते भाग लिने आयोजकले जनाएको छ ।

प्रतियोगिता अन्तर्गत एकल खेलहरु लिगकम नकआउटका आधारमा हुने छ भने टिम इभेन्ट्स नकआउटका आधारमा हुने छ । क्वाटरफाइनलसम्मका खेलहरु बेस्ट अफ ५ र फाईनल बेस्ट अफ ७ को आधारमा सञ्चालन हुने छन् ।

प्रतियोगितामा ११ वटा इभेन्ट्समा प्रतिष्पर्धा हुने छ । जसमा पुरुष एकल, महिला एकल, जुनियर ब्वाइज यू–१९, जुनियर गल्र्स यू–१९, क्याडेट ब्वाइज एकल यू–१५, क्याडेट गल्र्स यू–१५, पुरुष भेट्रान्स एकल ६० वर्षमाथि, पुरुष भेट्रान्स एकल ५० वर्षमाथि, पुरुष भेट्रान्स एकल ४० वर्षमाथि, महिला भेट्रान्स एकल ४० वर्षमाथि र पुरुष भेट्रान्स टिम ४० वर्ष माथिमा प्रतिष्पर्धा हुने छ ।

पुरुष एकलतर्फको विजेताले ५० हजार, उपविजेताले २५ हजार र तेस्रो हुनेले १०/१० हजार पाउने छन् भने महिला एकलतर्फ विजेताले समान पुरस्कार पाउनेछन् । जुनियर ब्वाइज यू–१९, जुनियर गल्र्स यू–१९, क्याडेट ब्वाइज एकल यू–१५ र क्याडेट गल्र्स यू–१५ तर्फको विजेताले १० हजार, उपविजेताले ५ हजार र तेस्रोले २५ सय पाउने छन् ।