
काठमाडौं । व्यापक आलोचनापछि रचनाकार शिव हमालको गीत ‘पापाकी परी’बाट अश्लिल शब्द र पेटिकोटको दृश्य हटाइएको छ ।
गीतबाट पेटिकोट लगाएर नाचिएका दृश्य र केही अश्लिल शब्द हटाएर शनिबार पुनः युट्युबमा सार्वजनिक गरिएको छ ।
तीज गीतको नाम दिएर मंगलबार सार्वजनिक गरिएको गीतको भिडियो र शब्दका विषयमा चर्को आलोचनापछि रचनाकार हमालले सार्वजनिक रूपमा माफीसमेत मागेका थिए ।
माफीपछि पनि आलोचना नरोकिएसँगै उनी गीत हटाउन बाध्य भएका हुन् । यसअघि गीतकी मोडल करिश्मा ढकाल र गायिका सुशिला पाठक गीत नहटाउने अडानमा थिए ।
गायिका पाठकले गीत विवादित भएपछि गीतमा कुन पक्षलाई मनोरञ्जनको रूपमा लिने र कुनलाई शिक्षाको रूपमा लिने आफ्नै विवेकमा भर पर्ने बताएकी थिइन् ।
गीतको भिडियोमा मोडल ढकाल र अन्य महिलाहरूले रातो पेटीकोट लगाएर अभिनय गरेका थिए । यस्ता प्रकारका गीतले उच्छृङ्खलतालाई बढावा दिएको भन्दै दर्शकले आपत्ति जनाएका थिए ।
गीतका रचनाकार हमाल राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका कार्यसमिति सदस्य हुन् । लोकदोहोरी प्रतिष्ठानले लोकसंगीतमा विकृति बढेको भन्दै शुद्धिकरण अभियान चलाइरहँदा उक्त अभियानमा हमाल पनि सक्रिय छन् ।
तर, उनैको गीतले उछृङ्खलतालाई बढावा दिएको आरोप लागेपछि उनी अहिले पानी रुझेको विरालो झैँ भएका छन् ।
प्रतिक्रिया दिनुहोस्