पेलोसीमाथि चीनको प्रतिबन्ध « Imagekhabar – Online News Portal of Nepal
२ भाद्र २०७९, बिहीबार | Thu Aug 18 2022


पेलोसीमाथि चीनको प्रतिबन्ध


1.027k
Shares

काठमाडौं । चीनले अमेरिकी संसदकी सभामुख नेन्सी पेलोसी र उनको परिवारमाथि प्रतिबन्ध लगाएको छ ।

चीनको चेतावनी र विरोधका बावजुद ताइवानको भ्रमण गरेकी पेलोसीमाथि उसले प्रतिबन्ध लगाएको हो ।

चीनका विदेशमन्त्री वाङ यीले एक विज्ञप्ति जारी गर्दै पेलोसीले चीनको आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामाथि नोक्सान पुर्याएको, एक चीन नीतिलाई पनि कुल्चिने प्रयास गरेको तथा ताइवानमा शान्ति र स्थिरतामा खलल पुर्याएको आरोप पनि विदेशमन्त्री वाङले पेलोसीमाथि लगाएका छन् ।

पेलोसीको भ्रमणपछि चीनले ताइवानको आसपासको क्षेत्रमा लगातार सैन्य अभ्यास जारी राखेको छ । चीनले ताइवानलाई आफ्नो हिस्सा मान्दै आएको छ भने ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र दाबी गरेको छ ।

यसैबीच, पेलोसी एसिया भ्रमणको अन्तिममा जापान गएकी छन् । उनले शुक्रबार त्यहाँ पत्रकार सम्मेलनमा आफूले ताइवानमा शान्ति र स्थिरता चाहेको दोहोर्याएकी छन् ।