सूचना लुकाउन सिपालु स्थानीय निकाय, आयोगमा उजुरीका चाङ « Imagekhabar – Online News Portal of Nepal
२५ श्रावण २०७९, बुधबार | Wed Aug 10 2022


सूचना लुकाउन सिपालु स्थानीय निकाय, आयोगमा उजुरीका चाङ


195
Shares

काठमाडौं । सरकारका सार्वजनिक निकायमध्ये स्थानीय निकाय सूचना लुकाउनेमा अब्बल देखिएका छन् ।

जनताको सुःख, दुःखको साथी मानिने स्थानीय निकाय नै सर्वाधिक सूचना लुकाउनेमा अग्रपंक्ति होला भनेर कमैले विश्वास गर्लान् । तर, नागरिकबाट चुनिएको निकायले नै सर्वाधिक सूचना लुकाउने गरेको सूचना राष्ट्रिय सूचना आयोगको तथ्याङ्कले बताउँछ ।

अघिल्लो वर्ष सूचना आयोगमा १ हजार २८ वटा निवेदन पुनरावेदन भएका थिए । त्यस्तै २०७७ मा सूचनाका लागि ७ सय ५३ वटा निवेदन परेको थियो । निवेदनका आधारमा सूचना आयोगले ९९ प्रतिशतसम्म सूचना दिलाउने गरेको छ ।

सूचना दिन नमान्ने निकायलाई कारबाही गर्ने गरेको आयोगका सूचना आयुक्त महेन्द्रमान गुरुङ बताउनुहुन्छ । स्थानीय तहको विकास निर्माणको विषयमा सूचना माग्दा नपाएको गुनासो बढी आउने गरेको उहाँको भनाइ छ ।

सार्वजनिक निकायमा सार्वजनिक महत्वका कुनै पनि सूचना पाउनु आम नागरिकको अधिकार हो । कुनै पनि कार्यालयले सार्वजनिक महत्वका सूचनाबाट नागरिकलाई बञ्चित गर्न पाइँदैन ।

नागरिकले मागेको सूचना लुकाएमा राष्ट्रिय सूचना आयोगमा उजुरी गर्ने पाउने व्यवस्था छ । आयोगले उजुरीको आधारमा नागरिकलाई सूचना दिलाउने गर्दछ ।

सूचना आयोगमा सञ्चारकर्मी, विद्यार्थी, राजनीतिक दलका नेता कार्यकर्ता, कर्मचारी न्यायाधीश लगायतले सूचना नपाएको गुनासो गर्न आयोग आउने गर्दछन् ।

त्यस्तै, आफ्नै कार्यालयको सूचना नपाएको भन्दै कर्मचारीले पनि निवेदन दिने गरेको पाइएको छ । सार्वजनिक निकायमा उपलब्ध सूचना जुनसुकै वर्गले मागे पनि उपलब्ध गराउनुपर्ने नियम छ ।

सार्वजनिक निकायको सूचनाका लागि आयोगमा बाक्लै आवेदन पर्ने गरेको छ । यो सूचनाप्रति आमनागरिकमा आएको चेतना पनि हो ।

सूचनामा नागरिकको पहुँच एउटा विषय हो, यससँगै पारदर्शी विधिको शासन हरेका नागरिकको सदिच्छा हो ।