बेहाल हुलाक : निजीसँग प्रतिस्पर्धा गर्न नसक्दा बन्द हुने अवस्थामा « Imagekhabar – Online News Portal of Nepal
२९ श्रावण २०७९, आईतवार | Sun Aug 14 2022


बेहाल हुलाक : निजीसँग प्रतिस्पर्धा गर्न नसक्दा बन्द हुने अवस्थामा


377
Shares

काठमाडौं । कुनै समय सूचना तथा सञ्चारको सिंगो प्रतिनिधित्व गर्ने हुलाक यतिबेला आफूलाई समयानुकूल परिवर्तन तरखरमा छ ।

हुलाकले दिने पोष्ट बक्स नम्बर लिन मरिहत्ते गर्नुपर्ने, ग्राहकको भीडले पाइला राख्ने ठाउँ नहुने समय गुजारेको हुलाक अहिले कार्यक्षेत्र विस्तार गरेर कुरियर र वित्तीय कारोवारमा केन्द्रित हुँदै आएको छ ।

तर, व्यवस्थापकीय चाँजोपाँजो नमिल्दा उसले दिने सेवाप्रति उपभोक्ताको भरोसा बटुल्न सकेको छैन ।

उपभोक्ताहरूको सामाजिक सञ्जालमा बढ्दो रुचि, चिठीपत्रमा निजीक्षेत्रको उपस्थिति बाक्लिएपछि हुलाकको कार्यक्षेत्र खुम्चिँदै गयो ।

निजीक्षेत्रको तुलनामा न्यून शुल्कमा हुलाकले सामान लाने ल्याउने गरे पनि प्रचारप्रसारको अभावमा धेरै उपभोक्ता हुलाकबारे बेखबर भएकाले कम प्रयोग भएको हुलाक विभागका महानिर्देशक इन्दु घिमिरे बताउनुहुन्छ ।

समयसापेक्ष हुलाकको कार्यशैलीमा सुधार ल्याउन सरकारले पटक–पटक कार्यदल नबनाएको होइन । तर, राजनीतिक इच्छाशक्ति कमजोर हुँदा हुलाकको गति कछुवा गतिमै सीमित छ ।

विश्व हुलाक संघको सदस्यता लिएका मुलुकमध्ये नेपाली हुलाकको अवस्था निकै कमजोर देखिन्छ । समय अनुसार प्रतिस्पर्धा गर्न नसक्दा हुलाक सेवाप्रति आम मानिसको चासो घट्दै गएको हो ।

लकडाउनपछि उडान नियमित भएसँगै निजी कुरियर कम्पनीले सामान पठाउन सुरु गरे पनि हुलाकले निरन्तरता दिन नसकेको महानिर्देशक घिमिरेकाे भनाइ छ ।

हुलाक सेवा विभाग मातहत चारवटा महत्वपूर्ण कार्यालय छन् । यीमध्ये एउटा गोश्वारा हुलाक कार्यालय हो, जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय डाँक सेवा सञ्चालन एवं हुलाक बचत बैङ्कको व्यवस्थापन गर्छ ।

केन्द्रीय धनादेश कार्यालय, जसलाई हुलाक विभागको सम्पूर्ण आर्थिक सेवासँग सम्बन्धित कार्य र धनादेश सेवाको केन्द्रीय हिसाब राख्ने जिम्मेवारी दिइएको छ ।

त्यस्तै, हुलाक टिकट डिजाइन, छपाई, वितरण लगायतका जिम्मेवारी पाएको फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालय छ । काठमाडौंको हुलाक गोश्वारा कार्यालय अन्तर्गत देशका ७७ वटै जिल्लामा हुलाकको पहुँच छ ।

हुलाक गोश्वारा कार्यालयमा रहेका १९ हजार ७ सय २५ वटा पोष्ट बक्स मध्ये ६ हजार ९ वटा पोष्ट बक्स अझै सञ्चालनमा रहेको गोश्वारा हुलाकका अधिकृत विष्णुदेवी गैरे बताउनुहुन्छ । तीमध्ये धेरैजसो अझै पनि नविकरण भइरहेको उहाँको भनाइ छ ।

समयअनुसार प्रचारप्रचार र प्रतिस्पर्धामा लैजान सके निजीक्षेत्र भन्दा धेरै सस्तोसेवाले उपभोक्ताले सुविधा पाउँथे नै, हुलाकको पनि साख जोगिन्थ्यो कि ?