नेपालगञ्जभित्रका ई-रिक्सालाई व्यवस्थित गर्ने « Imagekhabar – Online News Portal of Nepal
२९ श्रावण २०७९, आईतवार | Sun Aug 14 2022


नेपालगञ्जभित्रका ई-रिक्सालाई व्यवस्थित गर्ने


0
Shares

काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिकाले नगरक्षेत्रमा सञ्चालित ई–रिक्सालाई व्यवस्थित गर्ने भएको छ ।

ई–रिक्सा व्यवस्थापनका विषयमा सरोकारवालासँग छलफल गरी यही साउन १५ गतेभित्र सबै ई–रिक्साहरुलाई सूचीकृत गर्ने निर्णय गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले बताउनुभयो । उहाँका अनुसार, नगरमा सञ्चालित ई–रिक्साको रेकर्ड राखेर नियमन गर्ने, जथाभावी गरिने पार्किङलाई व्यवस्थित बनाउने, उचित भाडादर कायम गरी कार्यान्वयन गर्ने, रुट छुट्याउने लगायतका विषयमा छलफल भएको छ ।

नागरिकले दुःख नपाउने गरी ई–रिक्साको उचित व्यवस्थापन गर्न सबै सरोकारवालाहरु गम्भीर बन्नुपर्ने बताउँदै नगर प्रमुख बिष्टले नेपालगञ्ज उपमहानगरपालिका एक्लैले ई–रिक्सा व्यवस्थापन गर्न सम्भव नभएकाले यसमा सबै सरोकारवालाहरुको भूमिका आवश्यक रहेको उल्लेख गर्नुभयो ।

ई–रिक्सा व्यवस्थापन नगरको प्रमुख समस्याका रुपमा रहेकाले यसको उचित व्यवस्थापनका लागि सबैको हातेमालो जरुरी रहेको नगर उपप्रमुख कमरुद्दिन राईले बताउनुभयो ।

ई–रिक्सा नगरको ठूलो समस्याका रुपमा रहेकाले निश्चित पार्किङ क्षेत्र तोकेर कतिपय व्यस्त ठाउँमा निश्चित समयका लागि चारपाङ्ग्रे र तीनपाङ्ग्रे साधनलाई निषेध वा एकतर्फी सञ्चालन गर्नुपर्ने प्रस्ताव पेस गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले जानकारी दिनुभयो ।