८ माघ २०८१, मंगलबार | Wed Jan 22 2025


स्नेक आइल्यान्डबाट रुसी सेना फिर्ता, आफूले भगाएको युक्रेनको दाबी


2.275k
Shares

एजेन्सी । रणनीतिक हिसाबले महत्त्वपूर्ण मानिएको स्नेक आइल्यान्डबाट रुसी सेना फिर्ता भएको छ ।

रुसको रक्षा मन्त्रालयले आफ्नो कदमले युक्रेनबाट कृषि उत्पादन निर्यात गर्न र मानवीय मार्ग खोल्ने संयुक्त राष्ट्रसङ्घको प्रयासमा बाधा नपरोस् भन्ने उदेश्यले उक्त क्षेत्रबाट पछि हटेको बताएको छ ।

यद्यपि युक्रेनले भने आफ्नो आक्रमणका कारण रुसी सेना भागेको दाबी गरेको छ । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीको कार्यालयका प्रमुख एन्ड्रे येरमकले रुसी सेना उक्त स्थानबाट पछि हटेको पुष्टि गरेका हुन् ।

युद्धको सुरुमै रुसी पानीजहाजविरुद्ध युक्रेनी सैनिकहरूले प्रतिकार गरेका कारण चर्चित बनेको स्नेक आइल्यान्डमा अहिले युक्रेनी नियन्त्रणमा आउनुलाई युद्धको महत्त्वपूर्ण कडीको रूपमा हेरिएको छ ।

युक्रेनका सशस्त्र बलका प्रमुख जेनरल भालेरी जुलुजेन्यीले रुसी सेनालाई युक्रेनी क्षेप्यास्त्र, हतियार र हवाई आक्रमण थेग्न गाह्रो परेको बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनले युक्रेनी भूभागको रक्षा गर्न सघाएका सबैलाई धन्यवाद दिएका छन् ।

युक्रेनको किनारबाट ४० किलोमिटरको दूरीमा ब्ल्याक सीमा रहेको स्नेक आइल्यान्ड एक वर्ग किलोमिटरभन्दा पनि सानो छ ।