१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


वर्षाको कारण नेपाल एसिया कपमा छनोट हुन असफल


403
Shares

काठमाडौं । नेपाल एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप क्रिकेटको सेमिफाइनलबाट बाहिरिएको छ ।

शुक्रबार नेपाल र युएईबीचको पहिलो सेमिफाइनल खेल वर्षाको कारण पूरा हुन नसकेपछि नेपाल बाहिरिएको हो ।

खेल रद्द भएसँगै युएई फाइनलमा पुगेको छ ।

वर्षाअघि मलेसियाको किनरारा एकेडेमी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको युएई १९ ओभर ५ बलमा अलआउट हुँदै ८१ रन बनायो ।

युएईका लागि वैष्णवी महेशले सर्वाधिक १६ रन बनाईन् । यस्तै, इशा रोहितले १५, कप्तान छाया मुघलले १४ तथा खुसी शर्माले १२ रन बनाइन् ।

नेपालकी अश्मिना कर्माचार्यले ५, इन्दु वर्माले ३ तथा सीता रानाले २ विकेट हात पारिन् ।

तर, दोस्रो इनिङ हुन नसकेपछि नेपाल बाहिरिएको हो ।

पहिला पनि वर्षाका कारण ३० मिनेट ढिला भएको खेल अन्ततः फेरि वर्षाले प्रभाव पारेपछि युएईलाई भाग्यले साथ दियो ।