राष्ट्रिय टोलीबाट निकालिएका खेलाडीलाई स-सम्मान क्याम्पमा बोलाउने एन्फाको निर्णय « Imagekhabar – Online News Portal of Nepal
१७ असार २०७९, शुक्रबार | Fri Jul 1 2022


राष्ट्रिय टोलीबाट निकालिएका खेलाडीलाई स-सम्मान क्याम्पमा बोलाउने एन्फाको निर्णय


832
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रशिक्षकसँगको विवादमा राष्ट्रिय टिमबाट निकालिएका खेलाडीलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

बुधबार बसेको एन्फा कार्यसमितिको पहिलो बैठकले राष्ट्रिय टिमबाट बाहिर रहेका खेलाडीलाई फिर्ता बोलाउने औपचारिक निर्णय गरेको हो ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले टिमको व्यवस्थापनको विषयलाई लिएर उपकप्तान रोहित चन्द सहित १० खेलाडीलाई राष्ट्रिय टिमबाट बाहिर निकालेका थिए ।

उनले खेलाडीलाई समर्थन गरेको आरोपमा नियमित कप्तान किरण चेम्जोङलाई समेत राष्ट्रिय टिमबाट बाहिर राखेका थिए । प्रशिक्षक खेलाडीको विवादमा सिनियर खेलाडी रोहित चन्द, सुजल श्रेष्ठ, अनन्त तामाङ, सुमन लामा, विशाल राई, विमल घर्तिमगर, दिनेश राजवंशी, विशाल श्रेष्ठ र अन्जन विष्टलाई टिमबाट निकालिएको थियो ।

घटनाबारे छानबिन गर्न गठित समितिले प्रशिक्षकले बारम्बार अपशब्द प्रयोग गरेर क्याम्प छाडेर जान भनेपछि खेलाडीले होटल छाडेर गएको प्रतिवेदन दिएको थियो । एन्फा बैठकले छानबिन समितिको प्रतिवेदन अनुसार प्रशिक्षकको विषयमा कतार फुटबल संघसँग छलफल गर्न महासचिवलाई आवश्यक निर्देशन दिएको छ ।

बैठकले एन्फाको महासचिवमा किरण राई, कोषाध्यक्षमा रबिन्द्र जोशी र अन्तराष्ट्रिय विभाग प्रमुखमा नविन पाडेलाई नियुक्त गरेको छ ।