
काठमाडौं । लामो समयसम्म अवरोध हुँदै आएको मर्स्याङ्दी–काठमाडौं प्रसारण लाइन अन्तत सञ्चालनमा आएको छ ।
स्थानीयवासीले उचित मुआब्जा नपाएको भन्दै लामो समयसम्म निर्माणमा अबरोध गर्दै आएका यो प्रसारणलाइन ठूलो मेहनतपछि सञ्चालनमा आएको हो ।
धादिङको सिद्धलेक गाँउपालिका र गोरखाको पालुङटार नगरपालिकामा स्थानीयवासीले प्रसारण लाइन निर्माणमा अवरोध गरेका थिए । मर्स्याङ्दी नदी जलाधार क्षेत्रस्थित जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन महत्वपूर्ण मानिएको मर्स्याङ्दी–काठमाडौँ २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको हो ।
तनहुँको आँबुखैरनी गाउँपालिकाको मार्कीचोकबाट काठमाडौंको मातातीर्थसम्मको कूल ८२ किलोमिटर प्रसारण लाइनलाई हिजोदेखि १३२ केभीमा विद्युत् प्रवाह गरी सञ्चालनमा ल्याइएको छ ।
मर्स्याङ्दी काठमाडौँलाई तत्कालका लागि १३२ केभीमा सञ्चालममा ल्याएससँगै अब थप करिब २०० मेगावाटसम्म विद्युत् काठमाडौं उपत्यकामा प्रवाह हुनसक्ने बताइएको छ । यो लाइन काठमाडौं उपत्यकामा विद्युत् प्रवाहका लागि जीवनरेखा भएको घिसिङको भनाइ छ ।
मर्स्याङ्दी–काठमाडौँ प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी टाटा प्रोजेक्टसँग एक करोड तीन लाख अमेरिकी डलरमा ठेक्का सम्झौता भई २०७३ देखि आयोजना निर्माण सुरु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्