यार्सा उत्पादनमा अहिलेसम्मकै उच्च ह्रास, भारत भासिँदै बझाङका युवा « Imagekhabar – Online News Portal of Nepal
१३ असार २०७९, सोमबार | Tue Jun 28 2022


यार्सा उत्पादनमा अहिलेसम्मकै उच्च ह्रास, भारत भासिँदै बझाङका युवा


2.626k
Shares

बझाङ । जीवन बुटीको नामले प्रख्यात बहुमुल्य जडिबुटी यार्सागुम्बा प्रशस्तै पाइने जिल्लामा उत्पादनमा ह्रास आउन थालेको छ ।

जिल्ला वन कार्यालयको तथ्याङ्कलाई आधार मान्ने हो भने २०७० सालमा ३ सय ७२ केजी संकलन भएको यार्सागुम्बा २०७१ सालमा ३ सय ३८ किलोमा झरेको थियो । २०७३ सालमा यो परिमाणमा व्यापक गिरावट भएर २ सय ३७ केजीमा समेटियो ।

यस्तै, यार्सा संकलन सुरु भएदेखि हाल सम्मको उत्पादनलाई हेर्दा सबैभन्दा कम २०७८ सालमा १४८ केजी ३७ ग्राम मात्र संकलन भएको डिभिजन वन कार्यालयले जनाएको छ । २०७० सालमा ३७२ किलो यार्सा संकलन भएकोमा ९ वर्षमा झण्डै २२४ किलोले कमी आई १४८ किलोमा सीमित भएको छ ।

यार्सा उत्पादन र संकलन कमी भएसँगै स्थानीयको जीवनशैलीमा यसको प्रत्यक्ष असर देखिएको छ । उत्पादनसँगै मूल्य घट्दा अब यहाँको अवस्था नौ वर्षअघिको जस्तो रहेन ।

नौ वर्षअघि विदेश जान पूर्ण बन्द भएकोमा अहिले भने जिल्लाका अधिकांश मानिस रोजगारीका लागि भारत लगायत तेस्रो मुलुक जान थालेका छन् । केही स्थानीय भने मजदुरी, खेतपाती र पशुपालनमै फर्किएका छन् ।

‘पहिला वर्षमा ४/५ लाख यार्साबाट आइहाल्थ्यो, १० जनाको परिवारलाई वर्षभरी पुग्थ्यो’ यार्साको उत्पादन घटेस“गै मजदुरीको पुरानै पेशामा फर्किएका दौलीचौरका दनु बोहरा भन्नुहुन्छ, ‘अब पहिला जस्तो यार्सा पनि पाइँदैन, पाइहाले पनि मूल्य छैन । त्यही भएर पुरानो पेशामा फर्कियौं ।’

यसअघि यार्सा लगायतका जडिबुटीको बिक्रीबाट मनग्य आम्दानी भएपछि यार्सा संकलन क्षेत्रका धेरै जसोले खेतीपाती र पशुपालनका काम समेत छोडिसकेका थिए । स्थानीय धलौनका मिलन धामी भन्नुहुन्छ, ‘पहिले भेडा बेचिसकेकाहरू पनि अहिले फेरि भेडा पाल्न थालेका छन्, धेरैजसो त भारत तिरै जान्छन्, यार्साको मौसममा घर आउछन् ।’

यार्साको उत्पादन घटेसँगै अर्काे वर्ष यार्सा टिपेर पूरा गर्ने गरी सदरमुकाममा बनाउन सुरु गरिएका घरहरू समेत दुई/तीन वर्षदेखि अधुरै छन् । यार्सा टोलका नामले परिचित सदरमुकाम चैनपुरको प्रशासन रोडका अधिकांश घरका पिल्लरमा खिया लागिसके ।

यार्साको जथाभावी संकलन, जंगल खन्नु, जंगलमा आगो लगाउने जस्ता मानवसिर्जित कारणले यार्सा उत्पादन घटेको डिभिजन वन कार्यालयका कार्यालय प्रमुख कर्णबहादुर खाती बताउनुहुन्छ ।

यार्सा उत्पादन हुने स्थानमा हजारौ मानिसहरूको आवतजावत, प्लाष्टिक र शिसाजन्य फोहोर, जुत्ता चप्पल, काम नलाग्ने कपडाहरू जथाभावी फाल्ने गर्दा प्रदुषण बढ्दै गएकाले पनि यार्साको उत्पादन घटेको उहाँको तर्क छ ।

यसबाहेक हिमपात कम हुने र जलवायु परिवर्तनको असरका कारण पनि यार्सा उत्पादनमा ह्रास आएको उहाँको भनाइ छ ।