Logo ४ श्रावण २०८३, सोमबार | Tue Jul 21 2026


बिवादमा ऐतिहासिक पर्यटकीय स्थल (भिडियाे रिपाेर्ट)


117
Shares

सविना अछामे, खोटाङ
खोटाङको ऐतिहासिक पर्यटकीय स्थल मझुवागढीमा निर्माणाधीन किराती सांस्कृतिक चुलाघर विवादमा परेको छ।

प्रदेश सरकारको बजेटबाट निर्माण सुरु गरिएको चुलाघर किराती संस्कृति र परम्परा अनुकूल नभएको भन्दै विवाद भएपछि अहिले निर्माण कार्य ठप्प बनेको छ। कोशी प्रदेश सरकारको करिब ७९ लाख ५० हजार रुपैयाँ लागतमा मन्दिर, पार्क र सार्वजनिक शौचालयसँगै किराती सांस्कृतिक चुलाघरको निर्माण पनि थालिएको थियो।

तर, करिब १० लाखको लागतमा बन्दै गरेको चुलाघर किराती संस्कृति अनुसार नभएको पाइएपछि अहिले यसको निर्माण कार्य रोकिन पुगेको छ। सरोकारवाला पक्षसँग समन्वय नै नगरी निर्माण कार्य अघि बढाइएको भन्दै मझुवागढी संरक्षण समिति, किरात राई यायोक्खा र नेपाल आदिवासी जनजाति महासंघ लगायतका संस्थाहरूले आपत्ति जनाएका छन्।

उनीहरूले नगरपालिकालाई संयुक्त रूपमा ध्यानाकर्षण पत्र बुझाउँदै गलत ढंगले बनेको संरचना भत्काएर संस्कृति अनुसार पुनः निर्माण गर्न माग गरेका छन्। सरोकारवाला पक्षसँग कुनै पनि समन्वय र सरसल्लाह नगरी निर्माण कार्य थाल्दा ऐतिहासिक र सांस्कृतिक गरिमालाई मर्न नदिने उनीहरुको भनार्य छ।