Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


सोलुको सदरमुकाम सल्लेरीमै बायोमेट्रिक प्रणालीमा कर दर्ता सेवा


273
Shares

सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा बायोमेट्रिक प्रणालीमा कर दर्ता सेवा सञ्चालन गरिने भएको छ ।

प्यान तथा भ्याटमा दर्ता भएका व्यवसायीहरूको यस प्रणालीमा दर्ता गर्नका लागि सल्लेरीमै दुई दिने सेवा प्रदान गरिने भएपछि व्यवसायीलाई सहज हुने भएको छ ।

यही जेठ २८ र २९ गते उद्योग वाणिज्य संघ सोलुखुम्बु र करदाता सेवा कार्यालय ओखलढुङ्गाको संयुक्त आयोजनामा उद्योग वाणिज्य संघ सल्लेरीको कार्यालयमा प्यान तथा भ्याटमा दर्ता भएका व्यवसायीहरूको बायो मेट्रिक प्रणालीमा दर्ता गर्ने कार्यक्रम राखिएको उद्योग वाणिज्य संघ सोलुखुम्बुका प्रतिनिधि सदस्य रामलाल श्रेष्ठले जानकारी दिनुभयो ।

अन्य समयमा यही कामको लागि ओखलढुङ्गामा रहेको कार्यालयमा पुग्नुपर्ने र भनेको समयमा काम नहँदा समय पनि धेरै लाग्ने र आर्थिक भार पनि कम भएकाले यस अवसरलाई सबै व्यवसायीले उपयोग गर्नुपर्ने उद्योग वाणिज्य संघ सोलुखुम्बुका सदस्य भानुभक्त उपाध्यायले बताउनुभयो ।

प्रोपाइटर आफैं सक्कल प्यान कार्ड तथा नागरिकता लिएर दर्ता गर्न आउनुपर्ने उहाँको भनाइ छ ।

‘अर्को जिल्लामा गएर दर्ता गर्दा निकै असहज हुन्थ्यो,’ सल्लेरीका एक व्यवसायी वकिल कार्कीले भन्नुभयो, ‘यो धेरै राम्रो काम हो, आफ्नो आँगनमा आएको सेवालाई सबैले उपयोग गर्नुपर्छ ।’

सोलुखुम्बुमा कर कार्यालय नहुँदा कर सम्बन्धी सबै काम गर्न झन्जटिलो र खर्चिलो हुने गरेको व्यवसायीहरूको भनाइ छ ।