
काठमाडौं । अफगानिस्तानमा तालिवान सत्तामा आएको झन्डै दश महिनापछि भारतले पहिलोपटक तालिवान सरकारसँग औपचारिक भेटघाट गरेको छ ।
अफगानी जनताका लागि खाद्यान्न र औषधिलगायतका सामाग्री पठाएर तालिवान सरकारसँग सम्बन्ध राखिरहेको भारतले पहिलोपटक आफ्ना अधिकारीलाई काबुल पठाएको हो । भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मन्त्रालयका संयुक्त सचिव जेपी सिंहको नेतृत्वमा अधिकारीहरूको टोली अफगानिस्तान पठाएको जनाएको छ । टोलीले भारतले अफगानिस्तानलाई उपलब्ध गराएको मानवीय सहायताको निरीक्षण गर्ने तथा अफगानिस्तान सरकारलाई सहयोग पुर्याइरहेका विदेशी संघसंस्थासँग भेटघाट गर्ने बताइएको छ ।
भारतले अहिलेसम्म आफगानिस्तानका लागि २० हजार मेट्रिक टन गहुँ, १३ टन औषधि, ५ लाख कोभिडविरुद्धको खोप तथा कपडालगायतका सामग्री सहयोग गरिसकेको छ । तालिवानले गत अगस्ट १५ मा अफगानिस्तानको सत्ता कब्जा गरेको थियो । अमेरिकी सेनाले अफगानिस्तान छाडेलगत्तै तालिवानले शासन सत्ता नियन्त्रणमा लिएको हो । तालिवान समूह पाकिस्तानसँग निकट रहेको र आतंकवादी गतिविधिमा संलग्न रहेको भारतको बुझाइ छ ।
जसका कारण तालिवान सरकारमा आएसँगै भारतले आफ्ना नागरिक फिर्ता ल्याउनुका साथै दूतावास हटाएको थियो । तर पछिल्लो समय तालिवान सरकारसँग सम्बन्ध विस्तार गर्नका लागि भारत सक्रिय हुन थालेको हो । सिंहको नेतृत्वमा काबुल पुगेको भारतीय टोलीले गर्ने भेटवार्ता तालिवान नेताहरूसँगको पहिलो औपचारिक वार्ता हुनेछ ।
यसअघि अनौपचारिक रूपमा भने भारतले विभिन्न सम्पर्कमार्फत तालिवान नेतासँग कुराकानी गर्दै आएको थियो ।
प्रतिक्रिया दिनुहोस्