Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


जुम्लामा र्‍यापिड डाइग्नोस्टिक टेष्ट अभियान


0
Shares

जुम्ला, बैशाख २ । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको स्वास्थ्यकर्मीको टोलीले यहाँका हरेक क्वारेन्टाइनमा पुगेर भारत तथा तेस्रो मुलुकबाट आएका नागरिकको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (तत्काल जाँच गरिने विधि) अभियान शुरु गरेको छ ।

तातोपानी गाउँपालिका स्वासथ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाईंका अनुसार ३७ जनाको त्यस्तो टेष्टमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

उनले भने, “स्वास्थ्यकर्मीको टोलीले तातोपानी स्वास्थ्य चौकीमा आएका र्‍यापिड  डाइग्नोस्टिक टेष्ट गर्दा सबैको रिपोर्ट सबैको नेगेटिभ आएको हो ।” यस पालिकाको क्वारेन्टाइनमा बसेका ३३ जनामध्ये २१ जना १४ दिनपछि घर फर्केका छन् भने १२ जना टोप्ला क्वारेन्टाइनमा रहेको उनले बताए ।

तिला गाउँपालिकाको भैरव प्रावि जोगीवाडामा तीन र सीता मावि नुवाकोटमा १० जनाको उक्त टेष्टमा सबैको रिपोर्ट नेगेटिभ आएको जनस्वास्थ्य प्रमुख कृष्णप्रसाद सापकोटाले बताए ।

तेस्रो मुलकबाट आएका १३ र भारतबाट आएका ३७२ मध्ये गत २५ चैतमा ३२४ को स्वाब परीक्षण गर्दा सवैको रिपोर्ट नेगेटिभ आएको छ ।

उनले भने, “त्यति बेला छुटेका व्यक्तिको र्‍यापिट डाइग्नोस्टिक टेष्ट गर्न थालिएको हो ।” अहिले रिपोर्ट नेगेटिभ आए पनि १४ दिन क्वारेन्टाइनमा बसेर घर फर्काउने बेलमा पनि पुन स्वाब टेष्ट गरिने छ ।

र्‍यापिड डाइग्नोस्टिक टेष्टमा पोजेटिभ देखिएपछि पिसिआर ल्याब टेष्ट गरिने छ । प्रमुख सापकोटाले भने, “१४ दिन क्वारेन्टाइनमा बसेर टेष्टमा नेगेटिभ आएका व्यक्तिले पुनः हप्ता दिन होम क्वारेन्टाइनमा बस्नु पर्नेछ ।” रासस