१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


युक्रेन–रुस युद्धका कारण विश्वव्यापी खाद्य संकट निम्तन सक्ने बाईडेनको भनाई


390
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाईडेनले रुस–युक्रेन युद्धले विश्वलाई नै असर पारेको बताउनुभएको छ ।

क्वाड शिखर सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति बाईडेनले युक्रेनमाथि रुसको नाकाबन्दीका कारण खाद्यान्न निर्यात ठप्प हुँदा विश्वव्यापी खाद्य संकट निम्तन सक्ने भन्दै यसको असर विश्वव्यापी बन्न सक्ने बताउनुभएको हो ।

बाइडेनले अन्तर्राष्ट्रिय व्यवस्था र सार्वभौमिकताको रक्षा गर्न इन्डो–प्यासिफिक क्षेत्रमा बलियो र स्थायी साझेदार रहने प्रतिबद्धता जनाउनुभयो । साथै उहाँले अमेरिकाले विश्वव्यापी संकटको नेतृत्व गर्न सहयोगीहरूसँग मिलेर काम गर्ने वाचा गर्नुभएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अन्तर्राष्ट्रिय व्यवस्थाको रक्षाको महत्त्वलाई जोड दिँदै उहाँले रुस–युक्रेन युद्ध अब “वैश्विक मुद्दा“ बनेको बताउनुभयो ।

बाइडेनले युक्रेनमाथि रूसको आक्रमण हाम्रो साझा इतिहासको कालो घडी हो भन्नुभयो ।

राष्ट्रपतिका रूपमा आफ्नो पहिलो एसिया भ्रमणका क्रममा बाइडेनले टोकियोमा जापान, अष्ट्रेलिया र भारतका नेताहरूसँग भेट गर्दै हुनुहुन्छ ।

यस्तै, क्वाड बैठकको उद्घाटनमा जापानी प्रधानमन्त्री फुमियो किशिदाले पनि एसियामा यस्तो आक्रमण हुन नहुने बताउनुभएको छ ।

अस्ट्रेलियाका नवनिर्वाचित प्रधानमन्त्री एन्थोनी अल्बानीजले क्षेत्रीय सुरक्षा र जलवायु परिवर्तनप्रति आफ्नो देशको प्रतिबद्धतालाई जोड दिनुभयो ।

यसैबीच शिखर सम्मेलनको आफ्नो उद्घाटन सम्बोधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने रुस–युक्रेन मुद्दालाई उल्लेख नगरेको बताईको छ ।

बैठकमा हिन्द–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभाव र रुसी आक्रमणलाई लिएर मतभेदहरू सहित सुरक्षा र आर्थिक चिन्ताहरू छलफल गरिरहेका छन् । भारत अहिलेसम्म एक मात्र क्वाड सदस्य हो जसले आक्रमणको लागि रुसको प्रत्यक्ष आलोचना गर्न अस्वीकार गरेको छ ।