अहिलेसम्म ४३९ पालिकाको नतिजा सार्वजनिक कुन पार्टीको कति जिते ? « Imagekhabar – Online News Portal of Nepal
१८ असार २०७९, शनिबार | Sat Jul 2 2022


अहिलेसम्म ४३९ पालिकाको नतिजा सार्वजनिक कुन पार्टीको कति जिते ?


8.476k
Shares

काठमाडौं । बैशाख ३० गते सम्पन्न स्थानीय तहको मत परिणाम धमाधम आइरहेको छ ।

७५३ पालिकामध्ये अहिलेसम्म ४३९ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।सार्वजनिक मत परिणमामा नेपाली कांग्रेसले सबैभन्दा धेरै पालिकामा बर्चस्व राखेको छ । कांग्रेसले २०३ वटा स्थानीय तहको प्रमुख जितेको छ भने १९३ वटा तहको उपप्रमुख पद जितेको छ । त्यसैगरी कांग्रेसले १ हजार ९५४ जना वडा अध्यक्ष जितेको छ । कांग्रेस पछि नेकपा एमाले दोस्रो स्थानमा रहेको छ । एमालेले १२५ वटा स्थानीय तहमा प्रमुख पद जितेको छ भने १२६ वटामा उपप्रमुख पद जितेको छ । १ हजार ५१८ जना वडा अध्यक्ष जितेको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । उसले ८५ वटा स्थानीय तहमा प्रमुख पद जितेको छ भने ९३ वटामा उपप्रमुख जितेको छ । माओवादीले ८२७ वडा अध्यक्ष हात पारेको छ । यता नेकपा एकिकृत समाजवादीले ७ वटा पालिकामा प्रमुख पद जित्दा २३ वटामा उपप्रमुख पद जितेको छ ।

१४ पालिकामा अन्य दल तथा स्वतन्त्र उम्मेदवारहरु विजयी भएका छन् भने जनता समाजवादी पार्टीले ५ वटा स्थानीय तह हात पारेको छ ।मतगणना जारी रहेका स्थानीय तहमा कांग्रेसले सबै भन्दा बढी ११९ पालिका प्रमुख र ९७ उपप्रमुखमा अग्रता लिएको छ । यसैगरी नेकपा एमालेले ७१ पालिका प्रमुख र ११० उपप्रमुखमा अग्रता लिएको छ ।

त्यस्तै माओवादीका उम्मेदवारहरुले ३० पालिका प्रमुख र ३३ उपप्रमुखमा अग्रता लिएका छन् । त्यस्तै जनता समाजवादी पार्टी नेपालले २८ पालिका प्रमुख र २३ उपप्रमुखमा अग्रता लिएको छ । नेकपा एकिकृत समाजवादी १४ प्रमुख र ८ उपप्रमुखमा अगाडि छ ।

लोकतान्त्रिक समाजवादी पार्टी भने १० पालिका प्रमुख र ११ उपप्रमुखमा अगाडि रहेको छ । उसले अहिलेसम्म पालिका प्रमुख हात पारिसकेको छैन । राजनीतिक दलका उम्मेदवारहरुले कतिपय स्थानीय तहमा बिगतका एक अर्काका किल्ला भत्काएर विजयी भएका छन् ।