Logo २ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026


पार्टीको विधि, विधान र लोकतान्त्रिक मूल्य-मान्यता अनुसार १५ औं महाधिवेशनमा जान्छौं: नेता सिंह


611
Shares

काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १५ औं महाधिवेशनको तयारीमा आफूहरू अघि बढिसकेको भन्दै पार्टीको विधि, विधान र लोकतान्त्रिक मूल्य–मान्यता अनुसार महाधिवेशन सम्पन्न गरिने बताउनुभएको छ।

काठमाडौंमा शुक्रबार लौह पुरुष गणेशमान सिंहको २९ औं स्मृति दिवसका अवसरमा शोभा भगवतीस्थित उहाँको शालिकमा माल्यार्पण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता सिंहले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक दलका लागि राजनीतिक मुद्दा र एजेण्डा मुख्य हुने र न्यायपालिकाको स्वतन्त्रताको सम्मान गर्नुपर्ने बताउनुभयो। अदालतले न्यायिक विषयमा आफ्नो भूमिका निर्वाह गर्ने र राजनीतिक विषयमा राजनीतिक दलले नै निर्णय गर्नुपर्ने उहाँको भनाइ छ ।

नेता सिंहले कांग्रेसको इतिहासमा राजनीतिक मुद्दालाई प्राथमिकता दिँदै आएको उदाहरणका रूपमा वीपी कोइराला र गणेशमान सिंहको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिलाई स्मरण गर्नुभयो । २०३३ सालमा राष्ट्रियता र प्रजातन्त्रको रक्षाका लागि उनीहरू निर्वासनबाट नेपाल फर्किएको उल्लेख गर्दै उहाँले त्यसपछिका राजनीतिक घटनाक्रमले अन्ततः २०४६ सालको परिवर्तनको आधार तयार गरेको बताउनुभएकाे छ।

नेता सिंहले कांग्रेसले विगतदेखि नै जनताको अधिकार पुनर्बहालीका लागि संघर्ष गर्दै आएको उल्लेख गर्दै अहिले पनि पार्टीभित्र लोकतान्त्रिक मान्यता र विधिको पालना गरेर उदाहरण प्रश्तुत गर्नुपर्ने बताउनुभयो । उहाँले कांग्रेस कुनैपनि अवस्थामा आफ्नो परम्परा, विधि र नियम अनुसार १४ औं महाधिवेशनबाट १५ औं महाधिवेशनमा जाने बताउनुभएकाे छ। कांग्रेसको विधानले महाधिवेशनबाट निर्वाचित कार्यसमितिको कार्यकाल चार वर्ष तोकेको र विशेष परिस्थितिमा एक वर्ष थप गर्न सकिने व्यवस्था रहेको सिंहले बताउनुभयो । थपिएको एक वर्षको अवधि यही मंसिरमा पूरा हुने उहाँको भनाइ छ।

नेता सिंहले नेपालको संविधानले एउटा महाधिवेशनबाट अर्को महाधिवेशन साढे ५ वर्षभित्र सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको उल्लेख गर्नुभयाे। पार्टीले संविधानको भावना र मर्मअनुसार नै प्रक्रिया अघि बढाउने बताउनुभएकाे छ। विधिको शासन स्थापित गर्न, जनताको अधिकार सुरक्षित राख्न र राष्ट्रलाई जोगाउन आफूहरु लागेको बताउनुभयो।